मनाङ, वैशाख १९ – नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित हुनुभएको छ । नारफुको तीनवटाका सबै पदहरु काँग्रेसका उम्मेदवार र्निविरोध भएका छन् । वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन् ।
त्यस्तै काँग्रेसका तर्फबाट नासोङ गाउँपालिकाका वडा नं ४ मा अध्यक्षमा हुपजङ गुरुङ, वडा नं ६ मा ङिङमा अमेल पोतेल र वडा नं ७ मा धनबहादुर गुरुङलगायत अन्य सदस्यहरु र्निविरोध भएका छन् । नेपाली काँग्रेसले चामे गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारका रुपमा अनिता लामालाई चुनावी मैदानमा उतारेको छ भने उपाध्यक्षमा मुनेन्द्रजङ्ग गुरुङलाई अघि सारेको छ । नेस्याङ गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा विनोद गुरुङ, उपाध्यक्षमा छिरिङ ओङमा गुरुङ घले, नासों गाउँपालिकामा अध्यक्षमा चन्द्र घले, उपाध्यक्षमा कमलमाया गुरुङ रहनुभएको छ ।
यता नेकपा९एमाले० ले चामेमा लोकेन्द्र घलेलाई अध्यक्षमा उठाएको छ भने नेस्याङबाट कान्छा गुरुङलाई अध्यक्षमा र मिङ्खु गुरुङलाई उपाध्यक्षमा अघि सारेको छ । एमालेले नासो गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङलाई उठाएको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट नेस्याङको अध्यक्षमा याङडुङ गुरुङ, चामेको उपाध्यक्षमा पासाङ विष्ट र नासोमा वेदबहादुर गुरुङलाई अध्यक्षमा उठाएको छ । उता राप्रपाले नासोमा रामकृष्ण गुरुङलाई अध्यक्षमा उठाएको छ । रासस