स्थानीय तहको चुनावको लागि एमालेको घोषणा पत्र सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, बैशाख १८ २०७४
  • तामाकोसी खबर

काठमाडौं, वैशाख १८ – आर्थिक बृद्धिलाई प्राथमिकतामा राखेर नेकपा एमालेले स्थानीय तहको चुनावको लागि घोषणा सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेको घोषणापत्रमा १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने र मध्यम आय भएको देश बनाउने विषयलाई महत्व दिइएको छ । ३ वर्षमा एक घर एक रोजगारी र १० वर्षमा सबैलाई रोजगारी दिने एमालेको घोषणापत्रमा उल्लेख छ । एमालेले सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पु¥याउने र सबै नागरिकलाई घातक रोगको औषधोपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।



 

अनिवार्य स्वास्थ्य बिमा, गाउँपालिकामा २५ र नगरपालिकामा ५० शैयाका अस्पताल बनाउने दावी गरेको छ । यस्तै एमालेले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरेर, सडक र रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेको छ । पूर्वपश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्वपश्चिम राजमार्गदेखि नेपालभारत सीमासम्म चार लेनका राजमार्ग बनाउने एमालेको घोषण पत्रमा उल्लेख छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि एमालेले घोषणा गरेको छ ।