रामेछाप । बैशाख १३ गते,
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको लागि रामेछाप नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेसले प्रमुखमा नरबहादुर मगर र उपप्रमुखमा सिर्जना खड्कालाई उम्मेदवार बनाउने भएको छ ।सो नगरपालिकाको प्रमुखमा पार्टी सभापति लवश्री न्यौपाने र पार्टी सचिव लेखबहादुर कार्कीको नाम चर्चामा आएको भए पनि काँग्रेसले मगरको नाम तय गरेको छ । मगर साविकको हिमगंगा गाविस निवासी हुन् भने खड्का सुकाजोरकी वासिन्दा हुन् । रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा नेकपा एमालले प्रमुखमा रोशन पाख्रिनको नाम यस अघि नै टुङ्गो लगाई सकेको छ । एमालेले उप्रमुखको नाम भने निर्णय गर्न बाँकि छ । पाख्रिन सामाजिक क्षेत्रबाट आएका एमाले नेता हुन् । रामेछापमा माओवादी केन्द्रले भने आफ्नो उम्मेदवार टुङ्ग्याउन बाँकि छ । ९ वटा वडा रहेको सो नगरपालिकामा प्रमुख दलहरुले वडाका उम्मेदवारहरु भने लगभग टुङ्गो लगाएको बताए पनि सार्वजनिक भने गरेका छैनन् । रामेछाप नगरपालिकामा एमाले र काँग्रेस बीच प्रतिश्पर्धा हुने देखिएको छ । 
सदरमुकाम रहेको मन्थली नगपालिकामा राप्रपाले रामचन्द्र शर्मा कँडेललाई प्रमुखको उम्मेदवार बनाएको छ । कँडेल राप्रपाका जिल्ला उपाध्यक्ष हुन् । भटौलीको मुगीटार निवासी कँडेल शिक्षण पेशाबाट अवकास लिएपछि राजनीतिमा आएका नेता हुन् । यसैगरी उप्रमुखमा राप्रपाले रीता माझीलाई उपप्रमुख बनाउने निर्णय गरेको छ । यस अघि माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा तारानारायण श्रेष्ठ र रीतादेवी घिमिरेको नाम टुङ्गो लगाए पनि काँग्रेस र एमालेले आप्mना उम्मेदवार घोषणा गर्न सकेका छैनन् । १४ वटा वडा रहेको मन्थलीमा माओवादी केन्द्रले ४ वटा बाहेक सबै वडाका उम्मेदवार टुङ्ग्याएको छ । एमालेले पनि वडाका उम्मेदवारहरु भने लगभग टुङ्गो लगाई सकेको बताएको छ । काँग्रेसले केही वडा बाहेक सबै सम्मेदवारको टुङ्गो लगाउन बाँकि छ । मन्थलीमा काँग्रेस, एमाले र माओवादी बिच प्रतिश्पर्धा हुने देखिएको छ । ६ गाउँपालिका मध्ये उमाकुण्डमा कुनै पनि दलले उम्मेदवार तोक्न सकेका छैनन् । गोकुल गंगामा माओवादी केन्द्रले प्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । अन्य दलले प्रमुख र उप्रमुखको टुङ्गो लगाउन सकेका छैनन् । माओवादी केन्द्रले वाइसीएलका जिल्ला इञ्चार्ज प्रेमबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । लिखुमा एमालेले प्रमुखमा गोविन्द खड्का र उपप्रमुखमा खिम्तिकी दीपशिखा दाहाललाई उम्मेदवार बनाएको छ ।
बिजुलीकोटका खड्का राप्रपाबाट एमालेमा आएका नेता हुन् । उनी संविधानसभा निर्वाचनमा राप्रपाबाट क्षेत्र नं १ का उम्मेदवार बनेका थिए । माओवादी केन्द्रले सो गाउँपालिकामा तिल्पुङका ध्रुवकार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खाँडादेवीमा नेपाली काँग्रेसले प्रमुखमा वेदराज लामालाई निर्णय गरेको छ । सो गाउँपालिकामा झनक श्रेष्ठ, केशव केसी र राजनारायण श्रेष्ठ, धु्रव लामा लगायत ७ जनाले प्रमुखमा दावि गरेको थिए । अन्य दलले आप्mना उम्मेदवार घोषणा गरेका छैनन् । एमालेले खाँडादेवीको उपप्मुखमा मखमली श्रेष्ठको नाममा सहमति गरेको छ । दोरम्बामा एमालेले प्रमुखमा डडुवाका प्रेम लामालाई उम्मेदवार बनाएको छ । उपप्रमुखको भने टुङ्गो लागेको छैन । लाम डडुवाका पूर्वगाविस उपाध्यक्ष समेत हुन् । सो गाउँपालिकाका वडाका उम्मेदवार भने एमालेले टुङ्गो लगाएको छ । काँग्रेसमा मानबहादुर लामाको नामा टुङ्गो लागेको भनिए पनि आधिकारीक रुपमा आएको छैन । सुनपतिमा एमालेले प्रदिप योञ्जन र पाशाङ् डोल्मा लामालाई प्रमुख र उपप्रमुख बनाउने निर्णय गरेको छ ।
योञ्जन एमालेबाट विजयी पूर्व जिविस सदस्य समे हुन् । उनी बिचमा माओवादी पार्टीमा सक्रिय थिए । माओवादीको वर्चश्व रहेको भनिएको सुनापतिमा सोही पृष्टभूमिबाट आएका योञ्जनलाई एमालेले उम्मेदवार बनाएको छ । माओवादीका केन्द्रिय स्तरका धेरै नेताहरु समेत रहेको सो गाउँपालिकामा माओवादी, एमाले र काँग्रेसको बिच प्रतिस्पर्धा हुने छ । सो क्षेत्रलाई माओवादीले आफ्नो प्रतिष्ठाको विषय समेत बनाउँदै आएको छ ।