रामेछाप । वैशाख १० गते,
नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाको मेयर उपमेयर सहित वडा नम्बर ६,८,१२ र १४ नम्वरका बाहेक सबै वडाका उम्मेद्वार सार्वजनिक गरेको छ । मन्थली नगर कमिटिका ईन्चार्ज तारानारायण श्रेष्ठको अध्यक्षता र सांसद श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रमको आयोजना गरी माओवादी केन्द्रले उम्मेद्वार सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरमा पुर्व सभासद तारादारायण श्रेष्ठ र उप–मेयरमा रितादेवी घिमिरेलाई तोकेको छ । त्यस्तै वडा नम्बर १ को अध्यक्षमा नारायणदाश श्रेष्ठ, २ मा कुम्बराज तामाङ,३ मा रमेश बहादुर बरुवाललाई तोकेको छ । त्यसैगरी वडा नम्बर ४ मा विरेन्द्र कुमार बज्रचार्य, ५ मा राम बहादुर कार्की,७ मा श्री बहादुर माझी, ९ मा दिलिपराज गिरीलाई माओवादी केन्द्रले अध्यक्ष तोकेको छ । त्यस्तै वडा नम्बर १० मा भरत बहादुर बोहोरा,११ मा भिम बहादुर मगर र १३ मा केदार श्रेष्ठलाई अध्यक्ष तोकेको छ । बाकी रहेको वडा नम्बर ६ ,८,१२ र १४ नम्बरको पनि उम्मेद्वार सार्वजनिक गर्ने कार्य अन्तीम चरण पुगेको भएपनि केहि प्राविधिक कारणले केहिदिनमै घोषणा गर्ने नेकपा माओवादी केन्द्र रामेछापले जनाएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं सांसद श्याम कुमार श्रेष्ठले वैशाख ३१ गते भन्दा एक सेकेण्ड पनि निर्वाचन पछि नसर्ने बताए । उनले निर्वाचन हुने हो की हैन भन्ने अन्योलतामा नपर्न सबै संग आग्रह गरे । मुलुकको निकासनै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनको विकल्प नरहेको उनको भनाई छ ।
सिंहदरवारको अधिकार सिधै गाउँ पालिका र नगरपालिकामा ल्याउनका लागि यो स्थानीय निकायको निर्वाचन हुन लागेकाले यसमा सबैले सहयोग गरेर सफल बनाउनपर्नेमा उनले जोड दिए । उनले देशी तथा विदेशी जस्तो सुकै शक्ति लागे पनि वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचन १ सेकेण्ड नसर्ने बताए । कार्यक्रमका बोल्दै मन्थली नगरपालिकाको मेयरको उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप जिल्ला भर नेकपा माओवादी केन्द्र पहिलो पार्टी रहेको बताए । उनले अन्य पार्टीहरुलाई माओवादी केद्र फलामको चिउरा चपाए बराबर भएको बताए । उनले क्रान्तिकारीहरुले कहिले पनि नहार्ने भन्दै मन्थली नगरपालिकामा माओवादी केन्द्र बिजयी भएरै छाड्ने बताए । उनले नगरपालिका भित्रका सवै टोलटोलमा नागरिकहरुको विश्वास र भरोसाको पात्र बन्न सवै वडाका उम्मेद्वारहरुलाई निर्देशन दिए ।
रामेछापको मन्थली नरपालिकाको १० वडामा माओवादी केन्द्रको उम्मेद्वार सार्वजनिक
- प्रकाशित मिति: आइतबार, बैशाख १० २०७४
- तामाकोसी खबर