रामेछापको विभिन्न ठाउँमा मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रम

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३१ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत्र ३१ गते,
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापका सरोकारवाला निकायले तयारीलाई तिव्रता दिएको छ । निर्वाचनलाई मध्यनजर गरि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रम जिल्लाको विभिन्न ठाउँमा सुरु गरेको छ । सोहि कार्यक्रम अन्र्तगत जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको सहयोगमा समाजिक परिचालक र मतदाता शिक्षाका स्वयमसेवकहरुले वडा नम्बर ८ का नागरिकहरुलाई स्थानीय तहको निर्वाचनमा मत हाल्ने प्रक्रिया लगाएत मत संग सम्बन्धी विभिन्न कुराको बारेमा जानकारी दिएका छन् । वडा सचिव घनमाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दल , वडा नागरिक मञ्चका संयोजक , नागरिक सचेतना केन्द्रका संयोजक , महिला स्वयमसेवक लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि , वुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो । मतदाताहरुलाई निर्वाचन तथा चुनावमा हुने अन्योलता हटाउन मतदाता शिक्षा तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।