रामेछाप । माघ २७ गते,
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई अनुदानमा रकम दिने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् ।
व्यवसायको अनुगमन र मुल्याङकनै नगरी व्यवसाय संचालनका लागि भन्दै सरकारले अनुदानमा रकम दिदा दुरुपयोग भएको उनको भनाई छ । शनिबार जिल्ला युवा समितिको कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघात तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष ढुंगेलले यस्तो बताएका हुन् । उनले युवाहरुलाई उद्यमशिलता बनाउनका लागि सरकारले अनुदान नभै विना व्याजमा ऋणको व्यवस्था गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय युवा परिषदले ७७ वटै जिल्लामा एक वडामा एक युवा क्लव र एक उद्यमोग संचालन गर्ने अवधारण ल्याएको बताए । यतिमात्रै नभएर एक विद्यालय एक उद्योग संचालन गर्ने राष्ट्रिय युवा परिषदको योजना रहेकोले यो दुवै योजना केहि समयमै कार्यान्वयनमा आउने उनको भनाई छ । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकााश कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७३÷७४ कार्यक्रम र प्रगतिबारे जानकारी गराईएको थियो । 
पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार जिल्ला युवा समिति रामेछापले ९२.७८ प्रतिशत प्रगति गरेको छ । आर्थिक बर्ष २०७३÷७४ मा कुल ३१ लाख ९६ हजार २ सय बजेट आएकोमा विभिन्न शिर्षकमा कार्यक्रम गरी २९ लाख ६५ हजार ६ सय ५५ खर्च गरेको छ । जिल्ला युवासमितिले चालु आर्थिक बर्षमा युवा दिवस तथा महोत्सव, युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन , युवा उद्यम लगाएतका कार्यक्रमहरु संचालन भैरहेको समितिका अध्यक्ष प्रकाश कुमार कार्कीले जानकारी दिए ।
युवालाई अनुदान रकम दिनु हुदैन : युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेल
- प्रकाशित मिति: शनिबार, माघ २७ २०७४
- तामाकोसी खबर