रामेछापको मन्थलीमा विपद् जोखिम न्युनिकरण सम्बन्धी क्षमता अभिवृद्धि तालिम

  • प्रकाशित मिति: बिहिबार, भाद्र २२ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ २२ गते,
रामेछाप जिल्लाको सदरममुकाम मन्थलीमा विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन र सञ्जालिकरण सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम सुरु भएको छ । बिहिबारबाट सुरु भएको तालिम जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापको समन्वय ,पहाडि समाज कल्याण केन्द्र दोरम्बा,सामुदायिक विकास समाज मन्थली र सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालको सहकार्यमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार रामेछापले आयोजना गरेको हो ।
सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक रामकृष्ण क्षेत्रीको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिममा ३० जना भन्दा बढि जिल्लाका विभिन्न स्थानका रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुका पदाधिकारीहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्काले विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन र सञ्जालिकरण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई गाउँगाउँमा लैजानुपर्ने बताए । उनले यसका लागि जिल्ला समन्वय समितिले सरोकारवाला निकायले प्रभावकारी समन्वय गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक एवं रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले विपद् जोखिम न्युनिकरण र यसको व्यवस्थापनका लागि सबै मिलेर योजना बनाउनुपर्ने बताए । उनले यसका लागि जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध भएर अगाडि बढ्ने बताए । कार्यक्रममा सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीले विपद् जोखिम न्युनिकरण र यसको व्यवस्थापनका लागि सबैले साच्नुपर्ने बताए ।
उनले यसको व्यवस्थापन गर्नका लागि जिल्लाका सबै निकाय एक भएर प्रभावकारी योजना बनाउनुपर्ने बताए । योजना बनाउदा कार्यान्वयन हुने खालका योजना निर्काण गरेर लाग्नुपर्ने उनको भनाई छ । कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी रामेछापका सभापति शिव कुमार कार्कीले जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्थाहरुले सबै भन्दा पहिला विपद् जोखिम न्युनिकरण र यसको व्यवस्थापनका बारेमा गाउँगाउँमा चेतनाको विकास गर्नुपर्ने बताए । गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठले विपद् जोखिम न्यनिकरण र यसको व्यवस्थापनका लागि स्थानीय निकायहरुमा प्रभावकारी कार्यक्रम लैजान आवश्यक रहेको बताए ।
यसका सवालमा प्रभावकारी समन्वयको पनि आवश्यकता रहेकाले यसका लागि सरोकारवाला निकायले वृहत छलफल गर्नुपर्ने बताए । शुक्रबारसम्म संचालन हुने तालिममा रामेछाप जिल्लाका विपद्का उच्च जोखिममा रहेका रामपुर ,हिमगंगा ,भिरपानी,दुरागाउँ,शैपु,बिजुलीकोट , टोकरपुर लगाएतका साविकका गाविसहरुका सामुदायिक विपद् ,व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम संचालक सवल परियोजना रामेछापका कार्यक्रम संयोजक थिर बहादुर थापा मगर रविनले जानकारी दिए ।