रामेछाप । आर्थिक वर्ष सकिन लाग्दा रामेछापको सदरमुकाम रहेको मन्थली नगरपालिकामा विकास योजनाको कार्यान्वयन सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाले सम्पन्न गर्नुपर्ने ६०८ वटा विकास योजनामध्ये हालसम्म करिब एक चौथाइ योजनाको सम्झौता नै हुन सकेको छैन भने केही योजना आर्थिक वर्षभित्रै सम्पन्न नहुने अवस्थामा पुगेका छन्।
नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका प्रमुख इन्जिनियर डिल्लीबहादुर अधिकारीका अनुसार ६०८ योजनामध्ये ४६१ वटा योजनाको मात्रै सम्झौता भएको छ, जुन कुल योजनाको ७५.८२ प्रतिशत हो। सम्झौता भएका योजनामध्ये २६८ वटा योजना सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ। यो सङ्ख्या कुल योजनाको ४४.०८ प्रतिशत मात्रै हो। “हालको प्रगतिलाई हेर्दा ५ देखि १० प्रतिशत योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्न कठिन देखिन्छ,” अधिकारीले भने। नगरपालिकामा ३० लाख रुपैयाँभन्दा माथिका ३४ वटा योजना ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्नुपर्नेमा हालसम्म १२ वटा मात्रै सम्पन्न भएका छन्। बाँकी योजना कार्यान्वयनकै चरणमा छन्।
पूर्वाधार विकास तथा अनुगमन शाखाका अनुसार जेठ ११ गतेसम्म वडागत तथ्याङ्कले पनि योजना कार्यान्वयनमा असमान अवस्था देखाएको छ। वडा नं. १ मा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने ७० योजनामध्ये ४५ वटाको सम्झौता भएको छ भने २२ वटा योजना सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ। वडा नं. २ मा ५४ योजनामध्ये ३८ वटाको सम्झौता हुँदा २४ वटा योजना सम्पन्न भएको छ। वडा नं. ३ मा ३२ योजनामध्ये २५ वटाको सम्झौता भई १७ वटा योजना सम्पन्न भएका छन्।
त्यस्तै वडा नं. ४ मा ३५ योजनामध्ये २८ वटाको सम्झौता भएकोमा ११ वटा योजना सम्पन्न भएका छन् भने वडा नं. ५ मा ३४ योजनामध्ये २४ वटाको सम्झौता भई १४ योजनाको भुक्तानी भइसकेको छ। वडा नं. ६ मा ३२ योजनामध्ये २२ वटाको सम्झौता भएकोमा १२ योजनाको भुक्तानी गरिएको छ। वडा नं. ७ मा ६१ योजनामध्ये ४७ वटाको सम्झौता भई ३० योजनाको भुक्तानी सम्पन्न भएको छ।
वडा नं. ८ मा ४८ योजनामध्ये ४३ वटाको सम्झौता भएकोमा १९ योजना सम्पन्न भएका छन् । वडा नं. ९ मा ३६ योजनामध्ये २२ वटाको सम्झौता हुँदा ११ वटा योजना मात्रै सम्पन्न भएका छन्। वडा नं. १० मा २६ योजनामध्ये २३ वटाको सम्झौता भई १४ वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको छ।
यस्तै वडा नं. ११ मा ६६ योजनामध्ये ५७ वटाको सम्झौता भएकोमा ३८ योजना सम्पन्न भएका छन् भने वडा नं. १२ मा ४७ योजनामध्ये ४३ वटाको सम्झौता भई २८ योजना सम्पन्न भएर भुक्तानी भइसकेको छ। सबैभन्दा कमजोर प्रगति देखिएको वडा नं. १३ मा ३१ योजनामध्ये १७ वटाको मात्रै सम्झौता भएको छ भने ९ वटा योजना सम्पन्न भएका छन्। वडा नं. १४ मा ३६ योजनामध्ये २७ वटाको सम्झौता भई १९ योजना सम्पन्न भई भुक्तानी भएको पूर्वाधार विकास तथा अनुगमन शाखाका प्रमुख अधिकारीले बताए ।
मन्थली नगरपालिकामा एक चौथाइ योजनाको सम्झौता नै हुन सकेन
- प्रकाशित मिति: बुधबार, जेष्ठ २० २०८३
- तामाकोशी