रामेछापमा ३१ मतदान स्थलमा सीसी क्यामेराबाट निगरानी

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १२ २०८२
  • तामाकोशी

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेछाप जिल्लाका ४१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। दुई नगरपालिका र ६ वटा गाउँपालिकामा गरि ६४ वडा रहेको रामेछापमा ९६ वटा मतदान स्थल रहेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्रहरू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख(डिएसपी) भोलाकुमार भट्टका अनुसार मतदान स्थलहरूलाई अघिल्लो निर्वाचनको अवस्था, भौगोलिक बनावट, सुरक्षा पेरिमिटर र पूर्वाधारको आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। तीमध्ये करिब ४१ वटा मतदान स्थल अति संवेदनशीलमा परेका छन्। ३५ वटा संवेदनशील र २० वटा मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ।



उनका अनुसार सुरक्षाको दृष्टिले सामान्य भनिएका मतदान स्थल पनि पूर्ण सुरक्षित ठानिएको छैन। त्यसैले सबै मतदान स्थललाई सम्भावित जोखिमका आधारमा हेरेर सुरक्षाकर्मी परिचालन गरिएको छ। अनुगमनका क्रममा करिब १५–१६ वटा मतदान स्थलमा काँडे तार वा पेरिमिटर नभएको पाइएको र ती स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय सरकारलाई परिपत्र गरिएको उनले बताए ।
उनले भने,“जिल्लाका ३१ वटा मतदान स्थलमा सीसी क्यामेराबाट निगरानी भइरहेको छ । सम्भव भएसम्म अन्य मतदान स्थलमा पनि सीसी क्यामेरा जडान गर्न स्थानीय तह, विद्यालय प्रशासन तथा मतदान व्यवस्थापन समितिलाई सुझाव दिएका छौँ।”

निर्वाचन सुरक्षाका लागि जिल्लामा उपलब्ध प्रहरी जनशक्तिसँगै तालुक कार्यालयबाट थप सुरक्षाकर्मी मगाइएको छ। निर्वाचनमा खटिने प्रहरीहरू युनिटगत रूपमा परिचालित भइसकेका छन् र मतदानको ३–४ दिनअघि सम्बन्धित मतदान स्थलमा खटाइने तयारी रहेको छ। उनीहरूलाई घेरा सुरक्षा, परिचालन विधि र आकस्मिक अवस्थाको कार्य योजनाबारे विस्तृत ब्रिफिङ गरिएको डिएसपी भट्टले बताए ।

कुनै स्थानमा समस्या देखिएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबिच समन्वयमा कम्बाइन्ड सुरक्षा रणनीति लागू गरिने भट्टले बताए। हालको तयारीका आधारमा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनेमा जिल्ला प्रहरी कार्यालय विश्वस्त रहेको उनले स्पष्ट पारे। जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यस निर्वाचनका लागि रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । जिल्लामा २ हजार ४२२ अस्थायी मतदाता रहेका छन्। निर्वाचनमा तीन जना स्वतन्त्र र १४ राजनीतिक दलका १७ उम्मेदवार चुनावी मैदानमा छन्।