रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीले वडाभित्रका ७५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा वृद्धवृद्धाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै वडा कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजित बजेटबाट ६० वर्षदेखि ७० वर्षसम्मका, तर सामाजिक सुरक्षा भत्ता नपाउने ज्येष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा प्रदान गरिएको वडा अध्यक्ष रुद्रमणि नेवारले जानकारी दिए ।
वडा अध्यक्ष नेवारका अनुसार फाइबर सिरक, तन्ना, सिरकको खोल लगायतका आवश्यक सामग्री वितरण गरिँदा ज्येष्ठ नागरिकलाई जाडो मौसममा सहजता मिल्ने विश्वास गरिएको छ ।
“ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभवी र सम्मानित अभिभावक हुन् । उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो कार्यक्रम अघि बढाइएको हो,” वडा अध्यक्ष नेवारले भने ।
कार्यक्रमबाट लाभान्वित ज्येष्ठ नागरिकले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले जीवनयापनमा राहत पुगेको बताएका छन् । वडा कार्यालयले आगामी दिनमा पनि लक्षित वर्गको हितलाई केन्द्रमा राखेर सामाजिक सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष नेवारको भनाइ छ ।