उमाकुण्डमा बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम

  • प्रकाशित मिति: आइतबार, पुष २० २०८२
  • तामाकोशी

रामेछाप । उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरेको छ।

पाँच दिनसम्म चल्ने यो आवासीय तालिम पुस २३ गतेसम्म सिद्धेश्वर माध्यमिक विद्यालयको सभा हल, बाम्तीमा सञ्चालन भइरहेको छ।
तालिमको औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीको अध्यक्षतामा र वडा नं. २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतको प्रमुख आतिथ्यमा शनिबार गरिएको हो ।



कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप बस्नेत, समिति सदस्य गोर्मान दर्जी र सिट नेपालका फिल्ड को–अर्डिनेटर अनिल बस्नेत विशेष उपस्थित थिए।
तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्दै प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधार गर्नु रहेको छ। सहभागी शिक्षकहरूले प्रारम्भिक बाल शिक्षाको अवधारणा, बालमैत्री शिक्षण–सिकाइ विधि, मूल्याङ्कन प्रणाली, कक्षाकोठा व्यवस्थापन, खेल तथा सिर्जनात्मक गतिविधि, अभिभावक शिक्षा र बैठक सञ्चालनलगायत व्यवहारिक विषयहरूमा प्रशिक्षण पाउनेछन्।
तालिमका क्रममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र र सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीको बाल विकास कक्षाको प्रत्यक्ष अनुगमन पनि गरिनेछ, जसबाट शिक्षकहरूको क्षमता थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

तालिम सहजकर्ता बबिता कार्की र फुल्र्हाकी शेर्पाले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्। उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले प्रारम्भिक बाल शिक्षाको महत्त्व उल्लेख गर्दै बाल विकास शिक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो। उहाँले यस्ता तालिमहरूले शिक्षकहरूको ज्ञान र सीपमा वृद्धि गरी बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। तालिममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका ४० जना बाल विकास शिक्षकहरू सहभागी छन्। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।