रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा ४.३५ प्रतिशतभन्दा बढी नयाँ मतदाता थपिएका छन्। २ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत ६४ वटा वडा रहेको रामेछापमा यसपटक मतदाता संख्या बढेसँगै दुई वटा मतदान केन्द्र थप गरिएको छ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा १ लाख ८० हजार १०६ जना मतदाता रहेका थिए। हाल ७ हजार ८४६ जना ४.३५ प्रतिशत मतदाता थपिएपछि कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ जना पुगेको छ।
उनका अनुसार हाल जिल्लामा पुरुष मतदाता ९६ हजार ८९२ जना र महिला मतदाता ९१ हजार ६० जना छन्। मतदान स्थल भने अघिल्लोकै ९६ वटा कायम रहेका छन्। तर मतदाता संख्या वृद्धि भएपछि मतदान केन्द्र दुई वटा थप भई २२८ पुगेका छन्।
थप गरिएका मतदान केन्द्रमध्ये उमाकुण्ड गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय, सुनुवारधारामा एक र मन्थली नगरपालिका–११ स्थित मनकामना माध्यमिक विद्यालय, नाटिलामा एक रहेको निर्वाचन कार्यालयले जनाएको छ।
सरस्वती मावि सुनुवारधारामा ९० जना र मनकामना मावि नाटिलामा १८२ जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार नवयुवाहरूको गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्णयअनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरिएको थियो।
यस अवधिमा झण्डै ६ हजार जनाले नयाँ रूपमा मतदाता नाम दर्ता गराएका छन्। निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराएका र आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूलाई यस निर्वाचनका लागि मतदाता कायम गरिएको छ।