उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कसले के बोले

  • प्रकाशित मिति: मंगलबार, मंसिर १६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। वडा नं. ३ कुँभुकाँस्थलीस्थित धोबीटार खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका सातै वडाका सात माध्यमिक विद्यालयका २ सय ४२ विद्यार्थीले १२ विभिन्न विधाका खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिता मङ्सिर १७ गतेसम्म सञ्चालन हुनेछ।
सोमबार आयोजित विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले गणतन्त्र स्थापना भएपछि उमाकुण्ड गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डलाई निरन्तर रूपमा उच्च प्राथमिकतासाथ सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। गाउँमा सामाजिक एकता, आर्थिक उन्नति र व्यावसायिक अवसर विस्तार गर्न यो प्रतियोगिताले सकारात्मक प्रभाव पार्दै आएको बताउनुभयो।
अध्यक्ष सुनुवारका अनुसार गाउँपालिका उपलब्ध स्रोत, साधन र क्षमताअनुसार विकास निर्माणका काममा लागिरहेको छ। कतिपय अवस्थामा गुनासो वा आरोप आए पनि भएका कमी–कमजोरी सुधार गर्दै जनचाहनाअनुसार अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
उपाध्यक्ष सावित्री सुनुवारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलकुद गतिविधिलाई मात्र सञ्चालन गर्ने नभई गाउँपालिकाभित्रका संस्कार, संस्कृति र परम्पराहरूलाई उजागर गर्ने महत्त्वपूर्ण अवसर बनेको बताउनुभयो।



उहाँका अनुसार उमाकुण्ड गाउँपालिका बहु जाति, बहु भाषी र बहु धर्म मान्नेहरूको साझा वासस्थान भएकाले यस प्रतियोगिताले स्थानीय संस्कार–संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्न पनि उल्लेखनीय भूमिका खेलेको छ।उपाध्यक्ष सुनुवारले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्रदेश तथा सङ्घीय तहभन्दा पनि उच्च प्राथमिकता दिँदै गाउँपालिकाले विशेष बजेट व्यवस्था गर्दै आएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले गाउँपालिकाको सामाजिक एकता, सांस्कृतिक सम्पदा र खेलकुद विकासलाई अझ सशक्त बनाइरहेकोसमेत उल्लेख गर्नुभयो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित र परिणाममुखी बनाउन समिति निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

विगतमा देखिएका कमजोरीहरू सच्याउँदै जिल्ला स्तरीय प्रतिस्पर्धालाई अझ प्रभावकारी बनाउने, र त्यसैको आधारमा प्रदेश तथा राष्ट्रिय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामेछापले अझ बढी पदक हासिल गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले उमाकुण्ड गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद गतिविधि सक्रिय बनाउने मात्र नभई एउटा महत्त्वपूर्ण ‘सिकाइको मैदान’ भएको बताउनुभयो।

उहाँका अनुसार प्रतियोगिताले सहकार्य, मेलमिलाप, सामूहिक भावना, सामाजिक एकता र सद्भाव निर्माण गर्न निर्णायक भूमिका खेल्दै आएको छ। यति मात्र होइन, यो प्रतियोगिता राष्ट्र प्रेम र राष्ट्रियताको भावना अझ प्रगाढ बनाउन सहयोगी बनेको पनि भुजेलको भनाइ थियो।

कार्यक्रममा सबै वडाका तर्फबाट बोल्दै उमाकुण्ड गाउँपालिका–७ भुजिका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि उल्लेखनीय बजेट लगानी गर्दै आएको बताउनुभयो। माग र आवश्यकताको पहिचान गर्दै गाउँपालिका शिक्षा, स्वास्थ्य, पूर्वाधारदेखि खेलकुदसम्मका सबै क्षेत्रमा समान रूपमा विकासका कामलाई अघि बढाइरहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, खेल प्रशिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्ने, खेलकुदप्रतिको रुचि बढाउने र विद्यालयहरूबिच स्वस्थ र सकारात्मक प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको आयोजक उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष सुजित सुनुवारले बताउनुभयो ।