रामेछाप । पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने खैरेनीघाट–दुम्जामा बेलिब्रिज जडान हुने भएको छ। गएको वर्ष असोज दोस्रो साता सुनकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल पूर्ण रूपमा बगाएको थियो ।
जसबाट विशेष गरी सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका बासिन्दाले राजधानी काठमाडौँ आवत–जावतमा समस्या झेल्दै आएका छन्। अब बेलिब्रिज जडानको प्रक्रिया अघि बढेसँगै लामो समयदेखि अवरुद्ध यो महत्त्वपूर्ण यातायात मार्ग पुनः सञ्चालन हुने आशा बढेको छ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार बाढीले बगाएको खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडानका लागि आवश्यक पार्टसहरू आइपुग्न थालेका छन्। पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने यस पुल बगाएपछि विशेष गरी सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका बासिन्दाले काठमाडौँ आवतजावतमा ठुलो कठिनाइ व्यहोर्दै आएका थिए।
“बेलिब्रिज जडानका सामानहरू लगातार आइरहेका छन्, यो रामेछापवासीका लागि खुसीको खबर हो,” वडा अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार बुधवारसम्म हेटौडाबाट ४ भन्दा बढी गाडीमार्फत बेलिब्रिजका पार्टस निर्माण स्थलमा आइसकेका छन्।
पुल बगाएपछि दैनिक सेवा–सुविधा, बजार आपूर्ति र आपत्कालीन यात्रामा समस्या भएपछि स्थानीयले लामो समयदेखि पुल पुनर्निर्माणको माग गरिरहेका थिए। अब सामाग्री स्थलमै पुगेसँगै अन्य पूर्वाधार तयारी पनि अघि बढ्ने उनले जानकारी दिए।
यो पुल जडान भएपछि खाँडादेवी–१ राकाथुम र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ प्रत्यक्ष रूपमा जोडिनेछ। साथै पश्चिम रामेछापका बासिन्दा बिपी राजमार्गमार्फत काठमाडौँ–काभ्रे क्षेत्रमा सहज रूपमा आवतजावत गर्न सक्ने भएकाले यातायात, व्यापार तथा सेवा प्रवाह उल्लेख्य रूपमा सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
बाढीले बगाएको ६८ मिटर लामो खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडानका लागि आवश्यक पार्टस ल्याउने काम सुरु भएको सडक डिभिजन कार्यालय खुर्काेटले जनाएको छ।
डिभिजन प्रमुख पारसमणि हमालका अनुसार हाल बेलिब्रिजका सबै पार्टस स्थलमा ल्याउने काम भइरहेको र अबको एक हप्तापछि जडान कार्य औपचारिक रूपमा सुरु हुने बताए ।
उनले भने, “अहिले बेलिब्रिज र त्यसका पार्टसहरू ल्याउने काम भइरहेको छ। जडानको काम भने सुरु भएको होइन, पूर्व तयारी प्रक्रियामा छ।अबको एक हप्तापछि बेलिब्रि जडानको काम सुरु हुन्छ ।” प्रमुख हमालका अनुसार आवश्यक सबै पार्टस पुगेपछि काम सुरु भएपछि २१ दिनभित्र बेलिब्रिज जडान कार्य सम्पन्न हुनेछ।