आँखा उपचार सेवा विस्तारमा सामुदायिक सर्जिकल आँखा केन्द्र रामेछाप

  • प्रकाशित मिति: बिहिबार, असोज ३० २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक सर्जिकल आँखा केन्द्रले अब नयाँ सुविधा सम्पन्न पक्की भवनबाट सेवा विस्तार गर्न थालेको छ।

डेढ करोड रुपैयाँभन्दा बढी लागतमा बनेको दुई तले भवन बिहीबारबाट सञ्चालनमा आएपछि अब काठमाडौँबाट प्रदान हुँदै आएको आँखा उपचार सेवा मन्थलीमै उपलब्ध हुने अपेक्षा गरिएको छ।



तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँले २५ वर्षअघि मन्थलीमा एउटा सानो कोठाबाट सामुदायिक आँखा केन्द्र सञ्चालन गरेको थियो। २०७२ सालको महाभूकम्पले क्षति पु¥याएपछि जापानको संस्थाको सहयोगमा बनेको प्रि–फ्याब भवनबाट सेवा दिइँदै आएको थियो।

आँखा केन्द्रका अध्यक्ष डा.सुमन कर्माचार्यका अनुसार दुई वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य हाल सम्पन्न भएको हो।

उनले भने, “धेरैको प्रयासपछि आँखा केन्द्रले नयाँ पक्की भवन पाएको छ। अब यो भवनबाट काठमाडौँबाट प्रदान हुने आँखा उपचार सेवा मन्थलीमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो।”

उनका अनुसार तिलगंगा प्रतिष्ठानमार्फत निर्माण भएका यस्ता भवनमध्ये यो देशकै तेस्रो हो।

तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम प्रमुख मोहनकृष्ण श्रेष्ठले हिमालयन फाउन्डेसनको ५० प्रतिशतभन्दा बढी आर्थिक सहयोगमा एक करोड ५० लाखभन्दा बढी लगानीमा भवन निर्माण गरिएको जानकारी दिए।

उनले भने, “२५ वर्षअघि मन्थलीमा स्थापना गरिएको यो केन्द्रबाट अहिलेसम्म झन्डै पाँच हजार मोतिया बिन्दु शल्यक्रिया भइसकेका छन्। नयाँ भवन बनेसँगै सेवा विस्तार अझ प्रभावकारी हुनेछ।”

जिल्ला सामुदायिक आँखा केन्द्रका अनुसार हाल वार्षिक करिब ४ हजार ५ सय बिरामीको आँखाको परीक्षण भइरहेको छ।

केन्द्रले वर्षमा तीनदेखि चार पटकसम्म आँखा परीक्षण तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ। स्थापना पछिका २४ वर्षमा ४ हजार ७ सयभन्दा बढी मोतिया बिन्दु अप्रेसन गरिएको जनाएको छ।