रामेछाप । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले असोज १२ गते आइतबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म माथिल्लो तामाकोसी जलविद्युत केन्द्र (४५६ मेगावाट) को जलाशयको गेट खोल्ने–बन्द गर्ने कार्य हुने भएकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दोलखाको विगु गाउँपालिका–१ मा रहेको यो आयोजना गेट खोल्ने–बन्द गर्ने कार्य हुने सो अवधिभर तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती मन्थली हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह निरन्तर बढ्ने–घट्ने चक्र भइरहने कम्पनीले जनाएको छ ।
यो समयमा तामाकोसी किनारमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ । साथै धार्मिक वा दाहसंस्कारका कार्य गर्दा अत्यन्त सतर्कता र सावधानी अपनाउन समेत हाइड्रोपावर कम्पनीले आग्रह गरेको छ ।
