नगद सहयोग गर्ने सन्देश सुनुवारलाई विद्यालयले गर्‍यो सम्मान

  • प्रकाशित मिति: बिहिबार, असोज ९ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीति सुनुवार धारामा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई त्यहीँका निवासी हाल युकेमा कार्यरत लाहुरे सन्देश सुनुवारले ३० हजार नगद सहयोग गरेका छन् ।

विद्यालयले बिहीबार उक्त सहयोगको कदर स्वरूप उनलाई सम्मान पत्र सहित धन्यवाद ज्ञापन गरेको छ । सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण कुमार जेस्पुचा र प्रधानाध्यापक कल्याण कुमार सुनुवारले संयुक्त रूपमा गरेका थिए ।
सम्मान समारोहमा प्रधानाध्यापक सुनुवारले सहयोगी सन्देश सुनुवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयका लागि निरन्तर सहयोगको अपेक्षा रहेको बताए ।



यसै अवसरमा विद्यालयले दसैँ–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरी बिदा दिएको छ । आजदेखि उमाकुण्ड गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूले दसैँ बिदा दिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।