रामेछाप । रामेछाप सदरमुकाम रहेको मन्थली नगरपालिका भोलि (बुधबार) जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ।
नगर प्रमुख लव श्रेष्ठका अनुसार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे प्रमुख अतिथि रहने कार्यक्रममा मन्थली नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिनेछ। तयारी पूरा भएको उनले जानकारी दिए।
बुधवार बिहान १०ः०० बजेदेखि मन्थलीका तीन विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिने तयारी भएको छ । आकाशे पुलबाट सुरु हुने र्याली ट्राफिक चोक हुँदै, मन्थली मावि÷शहीद स्मृति क्याम्पसबाट सुरु हुने र्याली बसपार्क हुँदै, र भैसेश्वर चोकबाट सुरु हुने र्याली पाहुनाघर होटल, रेडक्रस, जिल्ला प्रहरी कार्यालय र हाटेचौर हुँदै कार्यक्रम स्थल मन्थली नगरपालिका–१ स्थित तीनलाल पार्कमा पुग्नेछ । त्यसपश्चात् बिहान ११ः०० बजे औपचारिक रूपमा घोषणासभाको उद्घाटन गरिनेछ ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्थली नगरले विगत दुई वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरभित्रका सबै १४ वटै वडा गत जेठ २८ गते नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन्।
२०७९ पुस १०–११ गते बसेको १२औँ नगरसभाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने निर्णय गरेको थियो। प्रतिवद्धताअनुसार २०८१ जेठ मसान्तभित्र घोषणा गर्ने योजना भए पनि कार्यान्वयन भने यस वर्ष जेठमा मात्र सम्पन्न भएको हो।
यसैबीच, रामेछाप नगरपालिका पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको प्रतीक्षामा रहेको छ। त्यहाँका सबै ९ वटै वडा जेठ २७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन्।