पर्वतारोही प्रकाशराजद्वारा ओसिनियाको सबैभन्दा अग्लो हिमाल कास्ट्रेन्स्ज पिरामिडको सफल आरोहण

  • प्रकाशित मिति: आइतबार, भाद्र १ २०८२
  • तामाकोशी

रामेछाप । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो कास्ट्रेन्स्ज पिरामिड (पुन्जाक जाया) सफलतापूर्वक आरोहण गरेका छन्।

रामेछापको लिखुतामाकोशी–७ स्थायी घर भएका पाण्डेले आइतबार बिहान ४ हजार ८८४ मिटर अग्लो चुनढुङ्गे पिरामिड आकारको कास्ट्रेन्स्ज पिरामिड चढ्न सफल भएको जानकारी दिएका छन्।



पपुवा, इन्डोनेसियामा अवस्थित यो शिखर आरोहीका लागि चुनौतीपूर्ण मानिन्छ। अब उत्तर अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनाली आरोहण गर्ने लक्ष्य रहेको उनले बताए । त्यसपछि क्रमशः अमेरिका र अन्टार्टिकाको उच्च शिखर चढेर अन्ततः नेपालमै फर्केर सगरमाथामा पुनः राष्ट्रिय झन्डा फहराउने योजना रहेको पाण्डेले बताएका छन्।

गत सोमबार ओसिनिया प्रस्थान गर्ने पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए। सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल आरोहण गरिसकेका पाण्डेले सन् २०१६ बाट पर्वतारोहण सुरु गरेका हुन्।

उनले ‘सेभेन समिट’ अभियानअन्तर्गत २०२४ को जुनमा युरोपको माउन्ट एल्ब्रुस, नोभेम्बरमा अफ्रिकाको किलिमन्जारो र फेब्रुअरीमा दक्षिण अमेरिकाको अकोन्कागुवा आरोहण गरिसकेका छन्।

पाण्डेले अभियानमार्फत जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएका छन्। मकालु आउटफिटको सहकार्यमा अभियान अघि बढाइरहेका उनलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग र आरोहण सामग्री उपलब्ध गराइरहेका छन्।