रामेछाप । तिलगंगा आँखा प्रतिष्ठानले आँखा सेवा विस्तार गर्ने नीति अनुसार रामेछापको उमाकुण्ड गाउँपालिकामा एकीकृत आँखा इकाई स्थापना गर्न सम्झौता गरेको छ।
प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, रामेछाप र उमाकुण्ड गाउँपालिकाबीच भएको सम्झौताअनुसार उमाकुण्ड प्राथमिक अस्पतालमा आधुनिक उपकरणसहितको आँखा एकाइ सञ्चालन हुने भएको हो।
यस एकाइबाट स्थानीयवासीले आधारभूतदेखि सर्जिकलसम्मका आँखा उपचार सुविधा पाउने उमाकुण्ड गाउँपालिकाले जनाएको छ । सेवामा नियमित आँखा स्वास्थ्य परीक्षण, औषधि वितरण, चस्मा उपलब्ध गराउने तथा आवश्यक परे सर्जिकल उपचार समेत समावेश हुनेछ।
तिलगंगा आँखा प्रतिष्ठानका अनुसार यो इकाइ सञ्चालनमा आएपछि ग्रामीण भेगका नागरिकलाई उपचारका लागि अन्य सहर धाउनुपर्ने आवश्यकता घट्नेछ।
यस पहलले उमाकुण्ड मात्र नभई आसपासका पालिकाका बासिन्दालाई पनि लाभ पुग्ने अपेक्षा गरिएको छ। सम्झौता हस्ताक्षर तथा आदान–प्रदान कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, तिलगंगाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।