रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुका युवाहरू निर्माण व्यवसायीको लापरबाहीले अलपत्र बनेको सडक मर्मतमा जुटेका छन्। ठेक्का सम्झौता अनुसार समयमै काम नगरेपछि खिम्ती–गर्जाङ सडकको बेतालीदेखि रस्नालुसम्मको खण्ड निकै बिग्रिएको छ।
भीमेश्वर युवा क्लबको सक्रियतामा शुक्रवारबाट श्रमदानमार्फत मर्मत सुरु गरिएको हो। “आफ्नो गाउँ आफ्नै बनाऔँ, अब पालो युवाको” भन्ने नारासहित रस्नालुका युवाहरू खाल्डाखुल्डी भरेर सडक सुधारमा जुटेका छन्।
स्थानीय युवा सुमन फुयाँलका अनुसार, लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको सडकका कारण एम्बुलेन्स चलाउन समेत नसकिने अवस्था आएको थियो। “शुक्रवार मात्र १० भन्दा बढी युवाले हिल्लामे सडकमा ढुङ्गा हालेर मर्मत गरेका छन्,” उनले बताए।
गोकुलगंगा गाउँपालिकामा हाल दुई वटा कालोपत्रे सडक योजनाहरू निर्माणाधीन अवस्थामा छन्। बेताली– भीमसेनस्थान खण्ड (४.५ किमी) र दार्खाखोला–बुर्केधारापानी खण्ड (४.५ किमी) गरी छुट्टाछुट्टै ठेक्कामा काम भइरहेको छ।
पूर्वाधार विकास कार्यालय रामेछापका अनुसार, दुवै खण्डका लागि ३० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बेताली– भीमसेनस्थान खण्डका लागि १५ करोड ३९ लाख रुपैयाँ र दार्खाखोला–बुर्केधारापानी खण्डका लागि १४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि अहिलेसम्म ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन।
गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) का अनुसार, निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरिएको छ। “गाउँपालिकाले १२ पटकसम्म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको छ,” उनले बताए, “तर ठोस कार्यान्वयन नहुँदा जनताले सास्ती भोग्नुपरेको छ।”
सडक निर्माणमा भएको लापरबाही र जिम्मेवार निकायको उदासीनताका कारण स्थानीयवासी आक्रोशित बनेका छन्। अहिले युवाहरूको सक्रियता र श्रमदानले केही राहत दिलाए पनि समस्या समाधानका लागि दिगो र जिम्मेवार पहल आवश्यक देखिएको स्थानीयको भनाइ छ ।
