रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरीमा डिजिटल एक्स–रेमार्फत क्षयरोग परीक्षण गरिएको छ ।
मन्थली नगरपालिकाको आयोजना र स्वास्थ्य निर्देशनालय हेटौँडाको समन्वयमा बिहीबार सञ्चालित डिजिटल एक्स–रे प्रविधियुक्त क्षयरोग परीक्षण कार्यक्रमबाट दुई जनामा क्षयरोग (टिबी) पुष्टि भएको छ।
कार्यक्रम अन्तर्गत २११ जनाको निःशुल्क डिजिटल एक्स–रे परीक्षण गरिएको थियो। तीमध्ये एक महिला र एक पुरुषको क्लिनिकल डाइग्नोसिसबाट क्षयरोग पुष्टि भई तत्काल औषधि उपचार सुरु गरिएको मन्थली नगरपालिका क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम संयोजक भुवन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षणका क्रममा थप ९ जना शङ्कास्पद बिरामीको नमुना GeneXpert परीक्षणका लागि सङ्कलन गरिएको छ। साथै, विगतमा क्षयरोग भएर निको भइसकेका तर पाँच वर्ष नपुगेका ५ जनाको नमुना पुनः AFB परीक्षणका लागि पठाइएको छ।
क्षयरोग नियन्त्रण तथा समयमै पहिचान गरी उपचार गर्न स्थानीय स्तरमै आधुनिक प्रविधि प्रयोग गरी परीक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।