रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका अन्तर्गतका सबै १४ वटा वडाहरू यही आउँदो जेठ २८ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने तयारीमा जुटेका छन्।
२०७९ साल पौष १० गते बसेको १२ औँ नगर सभाले मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउने निर्णय गरेको थियो। त्यसपछि २०८१ साल जेठ मसान्तभित्र घोषणा गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो।
मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष एवं नगर प्रवक्ता गोपाल श्रेष्ठले यही जेठ २८ गते बुधवार नगरका सबै वडाहरू बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाल नगरका सबै वडाहरू यही जेठ २८ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीमा छन्।” उहाँका अनुसार, सोही दिन सबै वडाहरू घोषणा भएपछि सिङ्गो नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनेछ।
बालमैत्री वडा घोषणा गर्न सबै वडाहरूले ५१ वटा सूचकहरू — बाल बचाउ (१४), बाल संरक्षण (१०), बाल विकास (६), बाल सहभागिता (६) र संस्थागत विकास (१५) — सफलतापूर्वक पार गरेका छन्।
यी मापदण्ड पुरा भएको पुष्टि सम्बन्धित निकायबाट अनुगमनपछि गरिएको छ ।
आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्मको अवधिमा, बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया अगाडि बढाउन मन्थली नगरपालिका र वडा कार्यालयहरूले एक करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट खर्च गरिसकेका छन्।
यस अवधिमा जम्मा ४ करोड १७ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो। अहिले नगर स्तरीय संरचनाहरू, बाल क्लब, वडा स्तरीय संयन्त्र, नागरिक समाज र सरोकारवालासँगको सहकार्यमा अन्तिम तयारी भइरहेको छ। यो घोषणा मन्थली नगरपालिकालाई नमुना बालमैत्री शासनयुक्त नगरको रूपमा स्थापित गर्न महत्त्वपूर्ण पाइला हुने विश्वास राखिएको छ।