रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रोकिएका पर्यटकहरु लुक्ला जान थालेका छन् । ५ घण्टापछि लुक्लाको मौसम खुलेसँगै मन्थलीमा रोकिएका पर्यटक लुक्ला जान थालेका हुन् ।
लुक्ला र मन्थलीको मौसम खराब भएपछि शनिवार बिहान ८ः३० बजेबाट उडान बन्द हुँदा १ सय ५० जना भन्दा बढी पर्यटक मन्थलीमा रोकिएका थिए । दिउँसो १ः३० बजेपछि लुक्लाको मौसम खुलेसँगै दिउँसो २ बजेबाट मन्थली–लुक्ला उडान सुरु भएको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो । बिहान साढे ८ बजेसम्म सीता, तारा र समिट यएरको गरी २० वटा उडान मार्फत ३ सय भन्दा बढी पर्यटक लुक्ला पुगेको उहाँले बताउनुभयो । अहिले उडान सुरु भएसँगै मन्थलीमा प्रतिक्षामा रहेका १ सय ५० जना भन्दा बढी पर्यटकहरु लुक्ला जान थालेका उहाँले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पु¥याउने गरेको छ ।
चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ८५० जनासम्म पर्यटक मन्थलीकनट लुक्ला पुग्ने गरेका छन् ।