प्रेस चौतारी रामेछापको स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया, भित्तेपात्रो पनि सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, चैत्र ३० २०८१
  • तामाकोशी

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान, भित्ते पात्रो सार्वजनिकीकरण तथा प्रेस स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार सदरमुकाम मन्थलीमा संगठनका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठले नयाँ नेपाल निर्माणको लागि सोचाइ, चिन्तन र कार्यशैली बदल्नु पर्ने बताउनुभयो । पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उहाँको धारणा छ ।
श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले भन्नुभयो“बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न सक्दैनन् । अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्ने माथि सामूहिक प्रहार आजको आवश्यकता छ ।”

लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै उहाँले निरङ्कुशतामा विचार माथि समेत प्रतिबन्ध लाग्ने उहाँको भनाइ छ । दुवै खालको निरङ्कुशताको मारलाई बेहोरे अहिलेको परिवर्तनमा देश पुगेको श्रेष्ठले बताउनुभयो ।

अहिले प्रतिक्रान्ति उत्रिएका विरुद्ध आक्रामक हिसाबले उत्रिनु पर्नेमा उहाँले जोड दिनुभयो । यो व्यवस्था ल्याउन लाखौँ मानिसहरूको योगदान र बलिदान रहेको श्रेष्ठले स्पष्ट पार्नुभयो । नेपाली काँग्रेस र एमाले बिच प्रतिस्पर्धा पनि रहेको र लोकतन्त्र र देश रक्षाको लागि एकता पनि रहेको उहाँले बताउनुभयो । लोकतन्त्र विरोधीहरूलाई सत्ताको सानो लोभमा काँग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना नदेख्न उहाँको चेतावनी छ ।
श्रेष्ठले नागरिकका केही असन्तुष्टि बढेका भए पनि त्यसलाई सम्बोधन गर्दै दुई दल मिलेर अघि बढ्ने बताउनुभयो ।

अहिले सरकार त्यही दिशामा अघि बढेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की पत्रकार पनि हामीसँग छन् भन्ने कुराले राजनीतिक दलले गर्व गर्ने गरेका बताउनुभयो । लोकतन्त्र स्थापना र यसलाई सुदृढ गर्न पत्रकार र राजनीतिक दल सँगै रहेका उहाँले स्पष्ट पार्नुभयो । परिवर्तनलाई जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको उहाँले बताउनुभयो ।

हावा हुण्डरी र रिसले कति क्षति गर्न सक्छ भन्ने कुरा त्यो थाम्मि सकेपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । त्यसैले हावा हुण्डरी जसरी आउनेहरूले आफूलाई थेग्न र थाम्न सक्नुपर्ने उहाँको धारणा छ । देश विकासको लागि अब साझा योजना बन्नु पर्नेमा उहाँको जोड छ । लोकतन्त्र र पत्रकारिता दुवै अभिन्न अङ्ग भएका बताउँदै उहाँले एकले अर्काको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रले केही दिएन भन्नेलाई विगत र वर्तमान हेर्न उहाँले आग्रह गर्नुभयो । नेकपा एमाले रामेछापका उपाध्यक्ष होताराज ढकालले नेकपा एमालेले पत्रकारलाई हेर्ने र बुझ्ने दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रले विकास बहस चलाउन पनि आवश्यक रहेको बताए । यसले विकासलाई अघि बढाउन योगदान गर्ने उनको धारणा छ ।

एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले २०८१ को सुरुको समय केही अस्थिर भए पनि बिचमा राजनीतिक स्थिरता र विकासको वर्ष भएको बताउनुभयो । वर्षको उत्तरार्धमा भने प्रतिगमनकारीले टाउको उठाउने काम गरेका उहाँले बताउनुभयो । राजावादीहरूको दुष्प्रयास अब कुनै पनि हालतमा सफल नहुने उहाँको भनाइ छ । सञ्चार माध्यमले पनि यस्ता कुराको प्रतिवाद गर्नुपर्ने उहाँको धारणा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापका उपसभापति मोहन कार्कीले पत्रकारहरू कुनै पार्टी विशेषका भन्दा पनि स्वतन्त्र भएर काम गर्नुपर्ने बताउनुभयो । त्यसो गर्दा पत्रकारको सुरक्षा चुनौती पनि कम हुने उहाँको धारणा छ । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले पत्रकारिता क्षेत्रको विकास र स्वतन्त्रताको लागि स्थानीय प्रशासनले योगदान गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश सचिव नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे, पत्रकारका विभिन्न पेसागत संगठनका प्रतिनिधि लगायतले प्रेस स्वतन्त्रता विषयमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापले प्रकाशन गरेको भित्ते पात्रो सार्वजनिक गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका नेताहरू, पत्रकार, सुरक्षा अधिकारी लगायतका सहभागिता थियो ।