रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटनालाई अवैधानिक ढङ्गले मिलापत्र गर्ने गराउनेमाथि कारबाहीको माग गरिएको छ । अवैधानिक ढङ्गले मिलापत्र गराउनेमाथि कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्लाका करिब एक दर्जन संघ संस्थाले जिल्ला प्रहरी कार्यालय रामेछापसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
गत फागुन २४ गते उमाकुण्ड गाउँपालिका–३ स्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रमको निम्तोलाई स्वीकार गर्दै लामा गुरुलाई स्वागत गर्न पुग्नु भएकी सोही वडाका वडा सदस्य शर्मिला नेपाली तथा अन्य दलित महिलाहरूलाई जातीय आधारमा भेदभाव भएको थियो । छुट्टै बस्न तथा छुट्टै खान बाध्य पारिएको घटनालाई वडा कार्यालयमै अवैधानिक रूपमा मिलापत्र गरिएको भन्ने समाचार विभिन्न मिडियामार्फत सार्वजनिक समेत भएको थियो ।
सोही विषयलाई लिएर शुक्रवार जिल्लास्थित नेपाली काँग्रेसको नेपाल दलित संघ, नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, गैरसरकारी संस्था महासङ्घ नेपाल, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, नेपाल राष्ट्रिय दलित पत्रकार संघ, समता मञ्च नेपाल, मिजार समाज नेपाल र परियार एकता समाजले संयुक्त रूपमा प्रहरीको ध्यानाकर्षण गराएका हुन् ।
उक्त घटना प्रक्रियाबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा दफा ४७ को उपदफा १ र २ र मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची १ को समेत ठाडो उपहास गरेको ठहर गदै ती संगठन तथा संघ संस्थाहरुले संवैधानिक तथा विद्यमान ऐन, कानुन र न्यायिक प्रक्रियाको उल्लङ्घन गर्ने गराउनेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीसँग माग गरिएको छ । वडा तहका जनप्रतिनिधिको रोहवरमा (वडाध्यक्ष, वडा सदस्य सहित) स्थानीय मेलमिलाप केन्द्रले सरकारवादी मुद्दालाई मेलमिलाप गराएको घटनाले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
घटनाले दलित समुदायलाई मात्र पीडित बनाएको नभई देशको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका हिमायती, शासक, राजनीतिक दल, प्रहरी, प्रशासन र सिङ्गो राष्ट्रलाई समेत गिज्याइरहेको संगठन तथा संस्थाहरूको निष्कर्ष छ । कार्यालय प्रमुख, माथिल्लो निकायका प्रहरी प्रमुखहरूसँग राय, सल्लाह लिएर कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
जातीय विभेदको घटनामा मिलापत्र गराउनेमाथि कारबाही गर्न माग
- प्रकाशित मिति: शनिबार, चैत्र १ २०८१
- तामाकोशी