रामेछापमा विविध कार्यक्रम गरी ६९ प्रहरी दिवस मनाइयो

  • प्रकाशित मिति: बुधबार, असोज ३० २०८१
  • तामाकोशी

रामेछाप । आज ६९ औँ प्रहरी दिवस । रामेछापमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष कार्यक्रम आयोजना गरि दिवस मनाएको हो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमशागर थापाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा विभिन्न खेलमा विजयी तथा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा अमर प्रहरी परिवारलाई सम्मान गर्नुका साथै प्रहरीको सेवा प्रवाहमा सहयोग गर्ने विभिन्न संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमशागर थापाले नेपाल प्रहरीले सीमित साधन र स्रोत तथा निक्कै पुराना कानुनका बिच पनि प्रशंसनीय काम गरेको बताउनुभयो ।
प्रहरी कानुनलाई समयानुकूल परिवर्तन गरी प्रहरीलाई अझ बढी क्रियाशील बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरी संवेदनशील क्षेत्र भएकोले एउटा प्रहरीले गर्ने गल्तीले सिङ्गो प्रहरी संगठन मात्र नभएर देश नै अप्ठेरोमा पर्ने बताउनुभयो । त्यसैले प्रहरीले हरेक काम संवेदनशील भएर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्कीले प्रहरीले नागरिकसँगको घुलमिल अझ बढाउनु पर्ने बताउनुभयो । यसो गर्दा समस्याको पहिचान र समाधान सहज हुने उहाँको धारणा छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले प्रहरीले जनताको सबैभन्दा नजिकको साथी बनेर काम गरिरहेको बताउनुभयो ।
जनताको जिउधनको सुरक्षा र शान्ति सुरक्षा कायम गर्न प्रहरीको उल्लेख्य भूमिका रहेको उहाँले स्पष्ट गर्नुभयो । यस्ता काम गर्दा मानव अधिकारको संरक्षणका कुराबाट प्रहरी चुक्न नहुनेमा उहाँले जोड दिनुभयो । नागरिकको मानव अधिकार संरक्षणको कुरामा कुनै सम्झौता हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न सबैको समान भूमिका हुने बताउनुभयो । प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै उहाँले प्रहरीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरी महानिरीक्षकले पठाउनु भएको शुभकामना सन्देश सुनाउनुभएको कार्यक्रममा प्रहरी निरीक्षक कौशल न्यौपानेले सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरू, सुरक्षा अधिकारी, कर्मचारी, नागरिक अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।