मालपोत कार्यालय रामेछाप एक महिना भन्दा बढी समयदेखि प्रमुख विहीन

  • प्रकाशित मिति: शनिबार, भाद्र २९ २०८१
  • तामाकोशी

रामेछाप । मालपोत कार्यालय रामेछाप एक महिना भन्दा बढी समयदेखि कार्यालय प्रमुख विहीन बन्दा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख रिक्त हुँदा कार्यालयले प्रवाह गर्ने महत्त्वपूर्ण सेवाहरू प्रभावित भएका छन् ।

जसका कारण सेवाग्राहीले सास्ती भोग्नु परेको छ । प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् । प्रमुख नहुँदा निर्णय गर्नुपर्ने कामहरू, नामसारी, घर कायम, संशोधन लगायतका महत्त्वपूर्ण काम एक महिना भन्दा बढी समयदेखि रोकिएका छन् । जग्गा नामसारी, संशोधन लगायतका काम गर्न टाढाबाट आएका सेवाग्राहीहरू फर्कन बाध्य भएका छन् ।
एक महिना भन्दा बढी समयदेखि कार्यालय प्रमुख नहुँदा मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका नियमित बाहेक निर्णय गर्नुपर्ने महत्पूर्ण काम हुन नसकेको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो “यसअघिका कार्यालय प्रमुख रमाना लिएर गत साउन २४ गते नै जानुभयो । त्यसपछि कार्यालयमा भएका मौजुदा ज्येष्ठ सिनियर कर्मचारीलाई कार्यालय प्रमुख तोक्न भनी हामीले भूमि व्यवस्थापन विभागलाई पत्र पठाएका थियौँ । तर विभागले अहिलेसम्म यहाँ भएका कर्मचारीलाई पनि प्रमुख तोक्न सकेको छैन । नयाँ कार्यालय प्रमुख पनि पठाउन सकेको छैन । एक महिना भन्दा बढी समयदेखि कार्यालयको निर्णय गर्नुपर्ने लगायतका महत्त्वपूर्ण कामहरू रोकिएका छन्।”
भूमि व्यवस्थापन विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ताकेता गरिएको र आगामी सोमबारसम्म कार्यालय प्रमुखको व्यवस्था हुन्छ भन्ने जानकारी आएको उहाँले बताउनुभयो । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राविधिक समस्याका कारण मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख पठाउन नसकिएको बताउँदै आएको थियो । तर अझै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यालय प्रमुख पठाउन सकेको छैन ।