सुत्केरी हुन नसकेपछि रामेछाप दोरम्बाकी सपना तामाङको सेनाको हेलिकप्टरबाट उद्धार

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८ २०८०
  • तामाकोशी

रामेछाप । सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ । सुत्केरी हुन नसकेर पीडामा परेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो ।
समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले बताउनुभयो । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आग्रहलाई स्वीकार गरी निःशुल्क हेलिकप्टरको व्यवस्था गरेकोमा वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल र प्रदेशको स्वास्थ्य मन्त्रालयलाई हार्दीक धन्यवाद व्यक्त गर्नुभएको छ ।