लिखुतामाकोशिकी प्रमिलाको ह’त्या प्रकरण: बुढेसकालको प्रेमसम्बध

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १ २०८०
  • तामाकोशी

रामेछाप । प्रमीला दमाई र कुमार श्रेष्ठको चिनाजान पुरानै हो । रामेछाप लिखु तामाकोशी ५– नागदहकि २८ वर्षीया प्रमीला श्रीमानसङ्गै गौशालामा बस्दै आएकी थिइन् ।

सामान्य सिलाइकटाइ गर्ने नस्से दमाईसँग प्रेम विवाह गरेकी प्रमीलाको पाँच वर्षीय छोरासमेत रहेको प्रहरीले जानकारी दिएको छ । तर, कुमार श्रेष्ठसँग सम्पर्क भएपछि भने प्रमीला घरमा श्रीमान् भन्दा श्रेष्ठसँगै नजिकिँदै गइन् ।



वैदेशिक रोजगारीका लागि विदेश गएर फर्किएका ३८ वर्षीय कुमार श्रेष्ठ पनि विवाहित पुरुष हुन् । दोलखा वैतेश्वर गाउँपालिका–७ घर भएका श्रेष्ठ छोरीसँग बानेश्वरमा बस्दै आएका थिए । काठमाडौंमा उनी चाँदी तथा तामाको काम गर्ने गर्छन् ।

कुमार र प्रमीलाको चिनाजानको सम्बन्ध विस्तारै प्रेममा बदलियो । काठमाडौं प्रहरीका अनुसार उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । कुमार र प्रमीलाले कैयौँपटक काठमाडौंको विभिन्न होटलमा पुगेर रात बिताएका पाइएको प्रहरीले जानकारी दियो ।

शुक्रबार पनि त्यसैको निरन्तरताका लागि कुमार र प्रमीला गौशाला विजयचोकस्थित सिराहा–धनुषा गेष्ट हाउसको १०८ नम्बरको कोठा बुक गरेर होटल पुगेका थिए । प्रहरीको अनुसन्धानले उनीहरु राति ८ः१८ बजे होटलमा पुगेको देखिएको छ । त्यसको दुई दिनअघि मंगलबारसमेत उनीहरु त्यही कोठामा पुगेर फर्किका थिए ।

तर, शुक्रबार कुमारसँग रात बिताउन होटलमा बस्न पुगेका प्रमीलासँग कुमारले सधैंका लागि नभेट्ने बाचामात्रै गरेरन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या नै गरेर फर्किए ।

कुमार र प्रमीलाको प्रेम सम्बन्धबारे दुवैजनाका श्रीमान श्रीमतीलाई समेत जानकारी थियो । प्रमीलाका श्रीमान् नस्से दमाइले त आफ्नो श्रीमतीसँग अवैध सम्बन्धमा रहेका कुमारविरुद्ध इलाका प्रहरी कार्यालय रामेछाप धोबीमा निवेदन नै दिए । रामेछाप प्रहरीले कुमार र प्रमीला दुवैका परिवारलाई बोलाएर छलफलसमेत गरायो । कुमारसँगै उनकी श्रीमती सविना श्रेष्ठसमेत धोबी प्रहरीमा पुगेकी थिइन् । उता प्रमीलाका श्रीमान् नस्से र प्रमीला पनि धोबी प्रहरी चौकी पुगेका थिए ।

प्रहरीसँगको छलफल पछि भने कुमारले अब उपरान्त प्रमीलासँग सम्पर्क नगर्ने भन्दै आफ्नै श्रीमतीको जिम्मामा फर्किए । तर, प्रहरी कार्यालयबाट छुटे पनि उनीहरुले सम्पर्क निरन्तर जारी नै राखे ।

साउनमा भने श्रीमतीले कुमारलाई भारत पठाइन् । प्रमीलासँगको सम्बन्ध टाढा होस् भनेर सबिनाकै जोरजफ्तीमा कुमारलाई भारत पठाइएको थियो ।तर, पाँच महिना भारत बसेर कुमार एकाएक काठमाडौं फर्किए । काठमाडौंको बुद्धनगरमा कोठा भाडामा लिएर बस्न थाले । छोरीसमेत आफूसँगै राखे । काठमाडौं फर्किका कुमारले भक्तपुरमासमेत अर्को कोठा लिए ।

त्यहीँ उनले प्रमीलालाई समेत राखे । ‘लिभिङ टुगेदर’मा बस्न थाले । २८ पुसमा कुमार दोलखा गएको मौकामा प्रमीला पुनः आफ्नै श्रीमान्को कोठा गौशाला फर्किइन् । त्यसयता भने उनीहरुबीच विवाद हुन थाल्यो । प्रमीलाले वैधरुपमै कुमारसँग विवाह गर्न दबाब दिइन् । तर, कुमार विवाह गर्ने पक्षमा थिएनन् । ४ माघमा दोलखाबाट फर्किएका कुमारले फेरि सबन्ध सुधार गर्न पहल गर्न थाले । त्यसैका लागि २३ माघमा उनीहरु होटलमा बसेर फर्किएका थिए ।

तर, प्रमीलाले कुमारसँग विवाह गर्ने अडान भने त्यागेकी थिइनन् । शुक्रबार फेरि होटलमा बस्न पुगेका कुमारले त्यही विवादका कारण प्रमीलाको हत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीको भनाई छ । होटलमा गलत पहिचान राखेर कोठा बुक गरेका कुमारलाई काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार बुद्धनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका कुमारमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।