रामेछाप । रामेछापमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि वाग्मती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० सुरु भएको छ । दुर्घटनाबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्ने नाराका साथ सुरु भएको ट्राफिक सप्ताहको सदरमुकाम मन्थलीमा बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।
यसअघि मन्थली बजारको देवकोटा चोकदेखि बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म ट्राफिक नियम सम्बन्धी सचेतना मूलक प्लेकार्ड तथा ब्यानर सहितको प्रभात फेरी भएको थियो ।
प्रभात फेरीपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सचेत नागरिक नै अचेत भएर ट्राफिक नियमको परिपालन नगर्दा सडक दुर्घटना बढी रहेको बताउनुभयो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरु भएको ट्राफिक सप्ताह सफल बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले रामेछापमा साढे दुई वर्षको अवधिमा सडक दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएको बताउँदै सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले वाग्मती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० अन्तरगत चोक–चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण, बढी भाडा लिए नलिएको अनुगमन, सवारी चालकसँग ५ मिनेट र ओभरटेक प्रशिक्षण गरिने बताउनुभयो ।
यस्तै, सिट क्षमता अनुगमन, तीव्र गतिमा सवारी साधन चलाउनेलाई प्रशिक्षण, विद्यार्थीलाई ट्राफिक सचेतना, गाउँ गाउँमा आमा समूह, टोल सुधार समिति र मानिसको भिडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम गरिने छ ।
त्यसै गरी सरकारी कार्यालयका कर्मचारी तथा चालकहरूलाई प्रशिक्षण, चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान र ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारीताका बारेमा सञ्चारकर्मी लगायत सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । रामेछापमा १८ महिनाको अवधिमा भएका ५२ वटा सडक दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा सडक दुर्घटनामा परी १३ जनाले र चालु आर्थिक वर्षको पुस मसान्तसम्म १७ वटा सडक दुर्घटनामा परी २ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चौलागाईँले बताउनुभयो ।

