रामेछाप । रामेछापमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६०० बढी बेरोजगार नागरिकहरूले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटा वडाका बेरोजगार सूचिकृत भएका आठ हजार २३७ मध्ये ६३८ नागरिकले न्यूनतम एक सय दिनको रोजगारी पाउने भएका हुन् । चालु आर्थिक वर्षको ७ महिना बित्नै लागे पनि जिल्लाका अधिकांश पालिकाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजनाहरूको प्रगति न्यून छन् । बेरोजगार सूचीकृत नागरिकलाई पालिकाहरूले सडक लगायतका पूर्वाधार, वातावरण संरक्षण, खानेपानी लगायतका क्षेत्रमा रोजगारी दिइरहेका छन् ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजनाहरूको कामले अझै गति लिन सकेको छैन । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजना सम्पन्न गर्न माघ महिनाभित्र सर्वेको काम सक्ने तयारी गरेको छ । मन्थली नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक रक्षित रेग्मीले अहिले ११ नं वडामा काम सुरु भएको र अन्य वडामा धमाधम सर्वेको काम भइरहेको बताउनुभयो । मन्थली नगरपालिकामा चालु आर्थिक वर्ष २०८०÷८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५२ लाख ८५ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । यो वर्ष नगरपालिकाको सबै वडामा गरी ८८८ जना बेरोजगार व्यक्तिमा सूचीकृत भएका छन् । नगरपालिकालाई प्राप्त बजेटलाई हेर्दा नगरका सबै वडाका गरी करिब ८० जना सूचीकृत बेरोजगार व्यक्तिले एक सय दिनको न्यूनतम रोजगारी पाउने रोजगार संयोजक रेग्मीले बताउनुभयो ।
रामेछाप नगरपालिकाको केही केही वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनाको सम्झौता हुन बाँकी छ भने केही वडामा काम सुरु भइसकेको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षमा सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चितताका लागि प्राप्त भएको ४६ लाख ८३ हजार रुपियाँ बजेटबाट ७० जना बेरोजगारलाई एक सय दिनको रोजगारी प्रदान गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक सोनिका तामाङले बताउनुभयो । चालु आर्थिक वर्षमा यो नगरपालिकामा ५९१ जना व्यक्ति बेरोजगार सूचीकृत भएका छन् । यो नगरपालिकाका बेरोजगार सूचिकृत नागरिकले दैनिक ६६८ रुपैयाँ ज्याला पाउनेछन् ।
लिखुतामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यो वर्ष ८ वटा योजना सम्पन्न हुनुपर्ने छ । यी योजना सञ्चालनका लागि गाउँपालिकालाई ५२ लाख ८३ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । ७ वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकामा सबै वडाको ७ वटा योजनाको सम्झौता भई काम सुरु भइसकेको गाउँपालिकाकी रोजगार सहायक ममिता तामाङले बताउनुभयो । लिखुतामाकोशी गाउँपालिकामा यो वर्षका लागि ६०५ जना बेरोजगार सूचीकृतका भएकोमा ७७ जनालाई न्यूनतम एक सय दिन बराबरको रोजगारी प्रदान गरिने तामाङले बताउनुभयो । यो गाउँपालिकामा बेरोजगार सूचिकृत भएका नागरिकले एक दिन बराबर ६८४ रुपैयाँ ज्याला पाउँछन् ।
सुनापति गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १९ वटा योजना छनौट भएका छन् । ५ वटा वडा रहेको यो गाउँपालिकामा १० लाख रुपैयाँसम्मका योजना छन् । अहिलेसम्म केही वडामा काम सुरु भएको गाउँपालिकाका रोजगार संयोजक कर्ण रसाइलीले बताउनुभयो । उहाँका अनुसार सुनापति गाउँपालिकामा यो वर्ष रोजगारी सिर्जनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ५२ लाख रुपियाँ बजेट प्राप्त भएको छ भने ५० लाख रुपैयाँ गाउँपालिकाले बजेट विनियोजन गरेको छ । उहाँले भन्नुभयो ‘‘सुनापति गाउँपालिकामा चालु आर्थिक वर्षमा ७१० जना बेरोजगार सूचीकृत भएका छन् । यस मध्येबाट यो वर्ष ७६ जनाले एक सय दिनको रोजगारी पाउँछन् ।’’ उहाँको अनुसार गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट निर्माण सामाग्री खरिद गरिने छ । यो गाउँपालिकामा बेरोजगार सूचिकृत भएका नागरिकले एक दिन बराबर ६८४ रुपैयाँ ज्याला पाउँछन् ।
दोरम्बा शैलुङ गाउँपालिकाले यो वर्ष बेरोजगार सूचीकृत भएका ५०२ जनामध्ये ७६ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रम ममार्फत एक सय दिनको रोजगारी दिने लक्ष्यका साथ काम अगाडी बढाएको छ । ७ वटा वडा रहेको यो गाउँपालिकालाई आर्थिक वर्ष २०८०÷८१ मा सूचीकृत बेरोजगारलाई रोजगारीका लागि ४२ लाख रुपियाँ बजेट प्राप्त भएकोमा ४ लाख रुपैयाँदेखि ८ लाख ८३ हजार रुपैयाँसम्मका ८ वटा योजना छनौट भएको गाउँपालिकाका श्रम संयोजक भोला पाठकले बताउनुभयो । उहाँका अनुसार अहिले यो कार्यक्रम मार्फत सञ्चालन हुने योजनाको सर्वे गर्ने र निर्माण उपभोक्ता समिति गठन काम भइरहेको छ । यो गाउँपालिकामा बेरोजगार सूचिकृत नागरिकले काम गरेबापत दैनिक ६८४ रुपैयाँ ज्याला पाउँछन् ।
उमाकुण्ड गाउँपालिकामा ६० प्रतिशत प्रगति
आठ वटा स्थानीय तहमध्ये सबै भन्दा बढी प्रगति उमाकुण्ड गाउँपालिकामा भएको छ । ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको ६६ लाख बजेट मार्फत २३ वटा योजना छनौट भएका छन् । छनौट भएको योजनामध्ये चार वटाको काम सम्पन्न भई भुक्तानी भइसकेको र अरू बाँकी योजनाको पनि ६० प्रतिशत काम सम्पन्न भएको रोजगार संयोजक दीपक प्रकाश सुनुवारले बताउनुभयो । उहाँका अनुसार उमाकुण्ड गाउँपालिकामा यो वर्ष एक हजार ६०० जना न्यूनतम रोजगारीका लागि सूचिकृत भएका छन् । जसमध्ये ८६ जनाले एक सय बराबरको रोजगारी पाउनेछन् । यो गाउँपालिकामा बेरोजगार सूचिकृत भएका नागरिकले एक दिन बराबर ७२० रुपैयाँ ज्याला पाउँछन् ।
जिल्लाको गोकुलगङ्गामा गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २६ वटा योजनाहरू छनौट भएका छन् । यसमध्ये ९ वटा योजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको र अरू योजनाहरू सम्झौताको क्रममा रहेको गाउँपालिकाका रोजगार सहायक रामकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार ६ वटा वडा रहेको यो गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगारमार्फत ६१ लाख ८३ हजार रुपैयाँ बजेट आएको छ । जसबाट ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्मका २६ वटा योजना बनेका छन् । चालु आर्थिक वर्षमा रोजगारीका लागि यो गाउँपालिकामा दुई हजार १९ जना नागरिक बेरोजगार सूचीकृत भएकोमा ९० जनाले न्यूनतम एक सय दिन बराबरको रोजगारी प्राप्त गर्ने रोजगार सहायक रामकुमार कार्कीले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकामा ८१ जना सूचिकृत बेरोजगारलाई एक सय दिनको रोजगारी दिन सक्ने ५५ लाख २९ हजार रुपियाँ बजेट प्राप्त भएको रोजगार संयोजक विपिन केसीले बताउनुभयो । उहाँका अनुसार यो गाउँपालिकामा यो वर्षका लागि एक हजार ३२२ जना नागरिक बेरोजगार सूचीकृत भएका छन् । नौ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालन हुने योजनाका लागि केही वडामा सर्वे गर्ने काम भइरहेको रोजगार संयोजक कार्कीले बताउनुभयो ।

