रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा ६ दिनदेखि अनसनमा बसेकी बिनु यादवले शुक्रबार साँझ अनसन तोड्नु भएको छ । रामेछाप नगरपालिका–१ गोठगाउँ स्थायी ठेगाना भएकी यादव पति प्रदीप कठायतले घरमा बस्न नदिएको भन्दै घरमा बस्ने वातावरण बनाई पाउँ भनि आइतबारदेखि जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेट अगाडि आमरण अनसन बस्नु भएको थियो । मन्थली नगरपालिका–१ भैसेसुर स्थित पतिको घरमा जाँदा पस्न नदिएको भनि बिनु यादव घरमा बस्ने वातावरण बनाइ पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा अनसन बस्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कार्यालयको तर्फबाट जनप्रतिनिधि सहित कठायत परिवारलाई राखेर पटक पटक छलफल गराउँदा पनि बिनुलाई घरमा बस्न दिन तयार नभएपछि बिनु कार्यालयको गेटमा नै अनसन बस्दै आउनुभएको थियो । अदालतमा विचाराधीन मुद्दा भएकोले अदालतको आदेश नआएसम्म प्रशासनले बल प्रयोग गरेर घरमा राख्ने अवस्था नभएको कार्यालयले जनाएको थियो । कठायत परिवारले अदालते बिनुलाई मासिक ६ हजार रुपैँया दिने फैसला गरेकोले सो रकम दिने तर घरमा बस्न नदिने अडान राख्दै आएको थियो । समस्या समाधान नहुने भए सोही बेहोराको पत्र जिल्ला प्रशासन कार्यालयले दिनु पर्ने माग बिनुको थियो । कार्यालयले मंगलबार र बिहीबार दुईवटा पत्र दिए पनि बिनुले आफूले माग गरेको बेहोरा ती पत्रमा नखुलेको भन्दै अनसन तोड्न अस्वीकार गर्नुभएको थियो ।
मानवअधिकारकर्मीहरूको पहलमा जिल्ला प्रशासन कार्यालयले बिनुको माग अनुसारको छोटो बेहोरा खुलाएर पत्र दिने र बिनुले सो पत्र बुझ्न छलफल पछि बिनु अनसन तोड्न तयार हुनुभएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ पत्र दिएपछि उहाँले अनसन तोड्नु भएको छ । यादवलाई नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिवकुमार कार्कीले जुस खुवाएर अनसन तोडाउनुभएको हो । अनसन तोड्नु भएकी यादवलाई मानवअधिकारकर्मीले साँझ नै स्वास्थ्य जाँचका लागि मन्थली नगर अस्पताल लगेका थिए । उहाँको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले जानकारी दिनुभयो । बिनु यादवका पति प्रदीप कठायतले जिल्ला अदालत रामेछापमा हालेको सम्बन्ध विच्छेदको मुद्दा कठायतको पक्षमा आएपछि बिनुले पुनरावेदन गर्नुभएको थियो । पुनरावेदन अदालतले सम्बन्ध विच्छेद नहुने फैसला गरेपछि कठायतले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुग्नु भएको छ । सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म उच्च अदालतको फैसलाबाट आफू कठायत परिवारको बुहारी भएकोले घरमा बस्न पाउनु पर्ने भन्दै बिनु गत शुक्रबार काठायतको भैसेसुर स्थिति घरमा पुग्नु भएको थियो । तर त्यहाँ पस्न नदिएपछि यादव शान्तिपूर्ण रूपमा घरमा बस्ने वातावरण गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो ।
