रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कृषि उपज पैँचो पसल सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा कृषि उपज पैँचो पसल स्थापना तथा सञ्चालन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । नगरपालिकाले आइतबार एक सूचना प्रकाशन गरी पैँचो पसल सञ्चालनका लागि मन्थली नगरपालिकाभित्र स्थापना भई व्यवसाय गरिरहेका इच्छुक सहकारी संस्थाहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । यसरी स्थापना हुने पैँचो पसलले तोकिएको वडाको केन्द्र भाग वा बजार क्षेत्रमा आर्थिक कारोबार गरी मन्थली नगरपालिकाको कृषकहरूसँग पैँचो कारोबार गर्नेछ । यो पसलले कृषकहरूले उत्पादन गरेको कृषि उपजहरू प्रचलित मूल्यमा खरिद गरी उनीहरूका लागि आवश्यक अन्य वस्तु तथा सामाग्रीहरू उपलब्ध गराउनेछ । यसरी स्थापना हुने पैँचो पसलका लागि कृषि उपज खरिद स्थलका लागि आवश्यक पूर्वाधार, खरिद भएका कृषि उपजहरूको भण्डारण, तथा सुरक्षा, नापतौलका उपकरण, ढुवानी तथा बजारीकरणमा नगरपालिकाले साझेदारी गर्ने मन्थली नगरपालिकाले जनाएको छ ।
