रामेछाप । रामेछापको मन्थली नगरपालिकाले वडा नं ७ भटौली स्थित भटौली स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्य कर्मीलाई सेवाबाट बर्खास्त गरेको छ । नगरपालिकाले भटौली स्वास्थ्य चौकीमा सिनियर अहेव पदमा कार्यरत (सहायक स्तर पाँचौँ) तहकी सुमित्रा श्रेष्ठलाई सेवामा रहँदा पालना गर्नुपर्ने आचरण पालना नगरेको भन्दा सेवाबाट हटाएको हो ।
मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकीले आज मङ्गलवार एक सूचना जारी गरी श्रेष्ठलाई सेवाबाट भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गरेको जानकारी गराउनुभएको छ । उपसचिव बुढाथोकीले जारी गर्नुभएको सूचनामा नगरपालिका अन्तर्गत भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव (सहायक स्तर पाँचौँ) तहकी सुमित्रा श्रेष्ठ सेवामा रहँदा पालना गर्नु पर्ने आचरण पालना नगरी, बिदा स्वीकृत नगराई, विना जानकारी ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको उल्लेख छ । श्रेष्ठ तत्काल हाजिर भई कामकाज गर्न सम्पर्कमा नआएको हुँदा बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ को (ग) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी कार्यालयको मिति २०८०÷०६÷१९ को निर्णयअनुसार सेवाबाट बर्खास्त गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ भनिएको छ ।
