कमीकमजोरी भए सच्याएर अगाडी बढ्न तयार छौँ : नगर प्रमुख श्रेष्ठ

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सही र सत्यलाई सही सत्य र कमजोरीलाई कमजोरी भन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले दसैँ, तिहार, छठ र नेपाल संवतको अवसरमा शुक्रवार मन्थलीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता नेपालीहरूको महान् चाड पर्वहरूले सबैमा सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्थली नगरपालिकाले नागरिकको चाहाना र जनप्रतिनिधिहरूको क्षमता अनि सोचलाई तालमेल मिलाएर दिगो विकासको लक्ष्य निर्धारण मार्फत नगरपालिकाको विकासका लागि काम गरिरहेको बताउनुभयो । काम गर्ने क्रममा हुन सक्ने केही कमीकमजोरीहरूलाई सच्याएर अगाडी बढ्न नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत सबै निकाय तयार रहेको बताउनुभयो ।