रामेछापमा सर्प दंशका बिरामी बढे

  • प्रकाशित मिति: सोमबार, असोज १५ २०८०
  • तामाकोशी

रामेछाप । हिमाली जिल्ला रामेछापमा सर्प दंशका बिरामी बढेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालमा गत साउनदेखि असोज १४ गतेसम्म ३० जना बढी सर्प दंशका बिरामी आएका छन् । मन्थली अस्पतालमा गत आर्थिक वर्ष २०७९÷०८० मा १२ जना सर्प दंशका बिरामी आएका थिए । गत वर्षको तुलनामा यो वर्ष सर्पले टोकेका बिरामी बढेको मन्थली अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले बताउनुभयो । ‘गत वर्ष सर्पले टोकेका १२ जना बिरामी आएकोमा यो वर्ष साढे दुई महिनाको अवधिमा ३० बढी सर्पले टोकेको बिरामी मन्थली अस्पताल आएका छन्, सर्पले टोकेर अस्पताल आएका बिरामी मध्ये पिट भाइपर (हरेउ) सर्पले टोकेका बढी छन्’, उहाँले भन्नुभयो । उहाँका अनुसार मन्थली अस्पतालमा यो वर्षको साउन महिनामा ८ जना, भदौ महिनामा १३ जना र असोज महिनाको हालसम्म ९ जना सर्पले टोकेकार बिरामी उपचारका लागि आएका छन् ।
अस्पतालमा आउने सर्प दंशका बिरामीलाई विषालु सर्पले डसेको हो कि सामान्य सर्पले त्यो पहिचान गरी उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । यो वर्ष सर्पले टोकेर मन्थली अस्पतालमा आएका ३० जना बिरामी मध्य दुई जनालाई थप उपचारका लागि काठमाडौंका अस्पतालहरूमा रिफर गरिएको उहाँले बताउनुभयो । रामेछापमा चेतनाको अभावले सर्पले टोकेपछि टोकिएको ठाउँबाट रगत नै सञ्चालन नहुने गरी बाँध्ने, टोकेको ठाउँमा गोबर लगायत विभिन्न कुराहरू लगाउने जस्ता समस्या देखिएको उहाँले बताउनुभयो । ‘सर्पले टोकेपछि प्राथमिक उपचार भनेर पहिले–पहिले गरिरहेका विभिन्न खाले कुराहरू नगरीकन सिँधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा उत्तम हुन्छ’, उहाँले भन्नुभयो । गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन , राति अँध्यारोमा हिँड्दा टर्च लाइट लिएर मात्रै निस्कन, दाउरा घाँस गर्दा पूरा बाहुलाको कपडा लगाउन र गम बुट लगाउन डाक्टर क्षेत्रीको सुझाव छ ।