सोलुखुम्बुको पानीडाँडामा पानीको हाहाकार

  • प्रकाशित मिति: आइतबार, भाद्र ३१ २०८०
  • तामाकोशी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुको पानीडाँडामै खानेपानीको हाहाकार भएको छ । झन्डै दुई वर्षदेखि खानेपानीको आपूर्ति बन्द भएपछि पानीडाँडा र खिप्लीका १६ घरपरिवार मर्कामा परेका छन् । स्थानीय ८२ वर्षीय निरकुमार बस्नेतले दैनिक दुई किलोमिटर हिँडेर खानेपानीको जोहो गर्दै आएको गुनासो गर्नुभयो । बस्तुभाउका लागि तीन किलोमिटर टाढाको इतल्कु खोलाको पानी बोकेर ल्याउने गरेको अर्का स्थानीय मदन तामाङले बताउनुभयो । सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा यस्तो समस्या निम्तिएको जुबुका वडाध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो । समस्या समाधानका लागि पालिकास्तरीय खानेपानी बोर्डले वर्षात सकिएलगत्तै काम अघि बढाउने उहाँको भनाइ छ । पालिकाले केही दिनभित्र प्राविधिकसहितको टोली खटाउने उहाँले बताउनु भयो ।