खाँडादेवीमा गत वर्ष नौ योजनाका झन्डै ९४ लाख बजेट भुक्तानी हुन सकेन

  • प्रकाशित मिति: मंगलबार, साउन २३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले गत आर्थिक वर्षमा सम्झौता भएको नौ वटा योजना सम्पन्न हुन सकेन । सम्झौता भएर पनि सम्पन्न हुन नसकेका ती योजनाको ९३ लाख ९५ हजार ७५८ रुपैयाँ बजेट भुक्तानी हुन सकेन । गत आर्थिक वर्ष २०७९÷०८० मा सम्झौता भएका मध्ये नौ वटा योजनाको रकम भुक्तानी हुन बाँकी रहेको गाउँपालिकाका लेखा प्रमुख विजय लुइँटेलले बताउनुभयो । भुक्तानी हुन बाँकी अधिकांश योजनाको कार्य सम्पन्न हुन बाँकी छ । कतिपय योजनाको कागजात पूरा नभएका कारण भुक्तानी हुन नसकेको उहाँले जानकारी दिनुभयो । केही योजना भने प्राविधिक रूपमा छुटेका लुइँटेलले बताउनुभयो । उहाँका अनुसार भुक्तानी गर्न बाँकी योजनाको रकम ९३ लाख ९५ हजार ७ सय ५८ रुपैयाँ रहेको छ । ठेक्का प्रक्रियामा गएका क्रमगत योजनाको निर्माण कार्य भने जारी रहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा खाँडादेवी गाउँपालिकाले ३४३ वटा योजनाको काम सम्पन्न गरेको छ । टेन्डर प्रक्रियामा गएका बाहेक उपभोक्ता समितिले गरेका योजनाको कार्यालयले कूल १२ करोड ५९ लाख २७ हजार ६९३ रुपैयाँ ५२ पैसा रकम भुक्तानी गरेको छ ।