रामेछाप । बागमती प्रदेशमा ५६वटा पालिकाले अझै आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
प्रदेशका एक सय १९ पालिकामध्ये ५६ पालिकाले आगामी आर्थिक वर्षका लागि अझै बजेट ल्याउन नसकेका हुन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि असार १७ गते आइतबारसम्म बागमती प्रदेशका ६३ वटा पालिकाले मात्रै बजेट ल्याएका छन् । देशभरको अवस्थालाई हेर्ने हो भने सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले बताउनुभयो ।