सरोकारवालासँग छलफल नै नगरी विद्यालय घटुवा गरेको भन्दै स्थानीय आन्दोलित

  • प्रकाशित मिति: मंगलबार, बैशाख २६ २०८०
  • तामाकोशी

रामेछाप । सरोकारवालासँग आवश्यक छलफल नै नगरी विद्यालयलाई घटुवा गर्न लागेको भन्दै रामेछापको सुनापति गाउँपालिका–२ का स्थानीय आन्दोलित भएका छन् ।

वडा नं २ का स्थानीयले विद्यालयलाई घटुवा गरेर गाउँपालिकाले बालबालिकाको पढ्न पाउने अधिकार खोस्न लागेको भन्दै गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका छन् । गाउँदेखि प्लेकार्ड बोकेर नारा जुलुस गर्दै स्थानीय गाउँपालिका कार्यालय पुगेका थिए



गाउँपालिकाकाले वडा नं २ मा रहेको श्री माध्यमिक विद्यालय मन्दर मेल चौरलाई आधारभूत विद्यालयमा घटुवा गर्न लागेपछि स्थानीयवासी आन्दोलित भएका हुन् । वडा नं २ का स्थानीयले विद्यालयलाई घटुवा गरेर गाउँपालिकाले बालबालिकाको पढ्न पाउने अधिकार खोस्न लागेको भन्दै गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका छन् । गाउँदेखि प्लेकार्ड बोकेर नारा जुलुस गर्दै स्थानीय गाउँपालिका कार्यालय पुगेका थिए । उनीहरूले गाउँपालिका कार्यालयमा नारा जुलुस गरेका थिए ।

नारा जुलुस सहित कार्यालय भित्र प्रवेश गर्न लागेका स्थानीयलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले कार्यालयको गेट लगाएर रोक्ने प्रयास गरे पनि सफल भएन । २०३० सालमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको सो विद्यालय २०६३ सालबाट माध्यमिक विद्यालयको रूपमा अपग्रेट भएको थियो ।

त्यस यता लगातार कक्षा १० सम्म पठन पाठन भइरहेको सो विद्यालयलाई प्रक्रियागत ढङ्गबाट विद्यालय समायोजन तथा व्यवस्थापन गर्दा समस्या आउन सक्छ भन्ने ठानेर गुपचुप रूपमा विद्यालयलाई घटुवा गर्न लागेको स्थानीयको आरोप छ । गाउँपालिकाले सेवा क्षेत्र विस्तार गर्नुपर्ने, नागरिकलाई दिइरहेको सुविधा थप्नु पर्नेमा शिक्षा क्षेत्रमा दिएको सेवा समेत कटौती गर्नु अन्यायपूर्ण भएको स्थानीय ज्ञानकुमार योञ्जनले बताउनुभयो । सरोकारवालासँग आवश्यक छलफल नै नगरी विद्यालयलाई घटुवा गर्ने गाउँपालिका विरुद्ध सिङ्गो गाउँ आन्दोलित भएको उहाँले बताउनुभयो ।