रामेछाप । सोलुखुम्बुको लुक्लाको उडानमा मात्र केन्द्रित भएका निजी क्षेत्रका विमान कम्पनीमाथि रामेछाप–काठमाडौँ उडानका लागि समेत दबाब थालिएको छ । अहिले मन्थली विमानस्थलबाट लुक्लाका लागि उडान गर्न विमान कम्पनीलाई भ्याइनभ्याइ छ । लुक्लाका लागि दैनिक ५० वटा उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट हुँदै आएका छन् । रामेछाप विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर लुक्लाका लागि उडान गर्ने तारा, सीता र समिट एयरलाई स्थानीयले पटक पटक सातामा कम्तीमा एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आए पनि अटेर गर्दै आएका छन् । मनग्ये नाफा हुने क्षेत्रमा उडान केन्द्रित गरेर रामेछाप विमानस्थललाई कमाउने थलोको रूपमा लिएको तर रामेछाप–काठमाडौँ उडानका लागि चासो नदिएपछि प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम )ले वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधि समेतको उपस्थितिमा छलफल गर्नुभएको छ । उहाँले रामेछाप विमानस्थलबाट आर्थिक लाभ लिनेले रामेछापेलीको सुविधाका लागि पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । तामाङले रामेछाप विमानस्थलमा हुँदै आएको वायुसेवा कम्पनीको मनोमानीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकको ध्यानाकर्षण समेत गराउनुभएको छ । मन्थली विमान स्थलबाट राजधानी काठमाडौँ उडानका लागि स्थानीय सरकारले पनि पटक पटक माग गरेको र यसका लागि सकेको सहयोग गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
काठमाडौँदेखि रामेछापसम्म ४ घण्टा सडक मार्गबाट रामेछाप पु¥याइने पर्यटकलाई जहाजले लुक्ला तर्फ लैजाने गरेको छ । लुक्लाबाट फर्कँदा पनि सोही मार्ग प्रयोग हुन्छ । जिल्लाबाट दैनिक झन्डै १ हजार ५ सय पर्यटक ओहोरदोहोर गर्दा सामान्य चिया पसल बाहेक अन्य व्यापार व्यवसाय हुँदैन । गाडीबाट सोझै विमानस्थल पुग्ने पर्यटकहरूलाई फर्कँदा लुक्लाको उडानबाट झर्ने बित्तिकै गाडी चढाएर काठमाडौँ लैजाने गरिएको छ । विमानले काठमाडौँको उडान नराख्दा रामेछापेली नागरिक भने लाखौँ खर्चेर हेलिकोप्टरबाट काठमाडौँ जानु पर्ने बाध्यता छ । बिरामी, अशक्त, गर्भवती, शल्यक्रिया गरेर घर फर्कनेहरू, वृद्धवद्धाले सडक मार्गबाट कष्टकर यात्रा गर्नुपरेको छ ।
रामेछापको मन्थली विमान स्थलबाट काठमाडौँ उडानका लागि दबाब
- प्रकाशित मिति: आइतबार, बैशाख १७ २०८०
- तामाकोशी