रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा एक घरमा आगलागी हुँदा २४ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । लिखुतामाकोशी गाउँपालिका वडा नं २ ढाडे स्थित किमानसिं तामाङको घरमा गयराती आगलागी हुँदा २४ लाख ४५ हजार बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । तामाङको भुईँ तलामा सञ्चालनमा रहेको इमरन ईसन इलेकट्रोनिक्स तथा किराना पसलमा गयराती साढे २ बजेतिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा पसलमा रहेको नगद तथा जिन्सी सामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उक्त स्थानमा लागेको आगो प्रहरी चौकी सिरिसेबाट प्रहरी सहायक निरीक्षक प्रदीप कुमार पाण्डेको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले मङ्गलवार बिहान साढे ६ बजे नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद पैसा, कपडा सिलाउने मेसिन ३ थान, कपडाको ( रोल), इलेकट्रोनिक्स सामान, कस्मेटिक सामान, ल्यापटप एक थान, प्रिन्टर दुई थान र फर्निचर डेकोरेसन सहित २४ लाख ४५ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरी चौकी सिरिसेले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।
लिखुतामाकोशी गाउँपालिकाको एक घरमा आगलागी हुँदा २४ लाख बढीको क्षति
- प्रकाशित मिति: मंगलबार, बैशाख ५ २०८०
- तामाकोशी