रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा वाग्मती प्रदेश स्तरीय सांस्कृतिक सम्मिलन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल वाग्मती प्रदेश समितिले चैत १२,१३ र १४ गते तीन दिन वाग्मती सांस्कृतिक सम्मिलन कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय जन सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा वाग्मती प्रदेशको आख्यान र निबन्धका विषयमा प्रा.डा.रामहरि लम्साल, कविता परम्परामा डा. हरिप्रसाद सिलवाल, मूर्तिकलाको अवस्थाको बारेमा दीपेन्द्र नेपाली र चित्रकलाको अवस्थाको बारेमा बाल मुकुन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै वाग्मती प्रदेशको नाट्य तथा रङ्गमञ्च परम्पराको बारेमा अशोक सिवाकोटी र साधुराम नेपालले, भाषिक स्थितिको विषयमा प्रा.डा जीवेन्द्र देव गिरी र भैरवी भूगोलले, लोक साहित्यको विषयमा प्रा.डा.ध्रुव घिमिरेले, सांस्कृतिक सम्पदाको विषयमा डा. रमेश शुभेच्छुकले, गीत एवं सङ्गीत परम्पराको विषयमा नमुना शर्माले, चलचित्र परम्पराको विषयमा अनिल बुढाथोकी र केवल दवाडीले तथा नृत्यकला परम्परा र प्रवृत्तिको बारेमा साजन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले मुलुकको राजनीतिक परिवर्तनमा प्रगतिशील कलाकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रगतिशील कलाकारले गरेको योगदानको मूल्याङ्कन गर्न उहाँले आग्रह गर्नुभयो । प्रा.डा. गिरीले नेपालको संस्कार र संस्कृतिलाई सामान्य मोडिफाई गरी लैजाने हो भने विश्वको ध्यान तान्न सक्ने बताउनुभयो । उहाँले संस्कार र संस्कृतिलाई मार्क्सवादी दर्शनसँग जोडे अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले राजनीतिक परिवर्तनले मात्र मानिसको जीवनमा परिवर्तन सम्भव नहुने बताउँदै सांस्कृतिक र सामाजिक परिवर्तनको लागि काम गर्नु पर्ने बताउनुभयो । केवल चुनावदेखि चुनावसम्म राजनीति केन्द्रित गर्नु नहुनेमा उहाँले जोड दिनुभयो । वाग्मती प्रदेशका कलाकार, साहित्यकार, मूर्तिकार, चित्रकार लगायतको सहभागिता रहेको सो कार्यक्रममा स्रष्टाहरूले आफ्नो प्रस्तुति समेत गर्नुभएको थियो । सो अवसरमा स्थानीय विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
रामेछापमा वाग्मती प्रदेश स्तरीय सांस्कृतिक सम्मिलन
- प्रकाशित मिति: मंगलबार, चैत्र १४ २०७९
- तामाकोशी