सामुदायिक शिक्षा सुधार गर्ने मन्थली नगरपालिकाको अभियान

  • प्रकाशित मिति: आइतबार, माघ ८ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारको लागि अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुको पठन पाठनलाई गुणस्तरीय बनाउने अभियान चलाइरहेको छ । सोही अभियान अनुसार नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिको लागि प्रधानाध्यापक तथा शिक्षकहरूसँग दोहोरो सम्झौता, विद्यार्थी, शिक्षक डायरी, दैनिक कामको अभिलेखीकरण लगायतका विभिन्न काम नगरपालिकाले सुरु गरेको छ ।
यही अभियान अन्तर्गत आइतबार मन्थली नगरपालिका–२ कठजोरको निलकण्ठेश्वर माध्यामिक विद्यालय कठजोरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया गरेको छ । विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति,अभिवाक र स्थानीय सरोकारवालासँग नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की, वडा नं ३ का वडाध्यक्ष कृष्णगोपाल थापा, महाशाखा प्रमुख हेमन्त बुढाथोकी लगायतले शिक्षा सुधारका सवालमा छलफल गर्नुभएको छ ।
नगरप्रमुख श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘मन्थली नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा नै हो, त्यसैले बजेटको अभावले शिक्षामा सुधार गर्ने काम पैसाको अभावले रोकिँदैन ।’’ विद्यालयको शिक्षा सुधारका लागि आवश्यकता अनुसारको दीर्घकालीन तथा प्रभावकारी योजना बनाएर लाग्न विद्यालयलाई आग्रह गर्दै नगरप्रमुख श्रेष्ठले आवश्यक स्रोत र साधनको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो । १४ वडा रहेको मन्थली नगरपालिकामा अहिले १९ वटा माध्यायिक विद्यालय र ४९ वटा आधारभूत विद्यालय सञ्चालनमा छन् । यी विद्यालयहरूमा अहिले १० हजार पाँच सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।