रामेछापमा जुनारको उत्पादन बढ्यो : गत वर्ष भन्दा १ हजार ६८ मेट्रिक टन बढी उत्पादन

  • प्रकाशित मिति: मंगलबार, पुष १९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा यो वर्ष जुनारको उत्पादन बढेको छ । जुनार फलको मुख्य शत्रुका रूपमा रहेको औँसा किरा व्यवस्थापन कृषक र कृषिसँग सम्बन्धित निकायबाट उल्लेख्य मात्रामा काम भइरहेकाले गत वर्ष भन्दा यो वर्ष एक हजार ६८ मेट्रिक टन जुनार बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । रामेछापमा यो वर्ष करिब ७९१ हेक्टर जमिनमा जुनार लगाइएकोमा ११ हजार ८६५ मेट्रिक टन जुनार उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताउनुभयो । जिल्लामा गत वर्ष २०७८÷०७९ मा १० हजार ७९७ मेट्रिक टन जुनार उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा जुनारको उत्पादकत्व प्रति हेक्टर १३.६५ रहेकोमा यो वर्ष बढेर १५ पुगेको गुरुङको भनाइ छ । जुनार फलको मुख्य शत्रुका रूपमा लिइएको औँसा किरा व्यवस्थापनमा जुनार कृषक, कृषिसँग सम्बन्धित निकायहरूले उल्लेख्य मात्रामा काम गरिरहेको भए पनि सबै जुनार बगैँचाहरूको उचित व्यवस्थापन हुन नसक्दा केही स्थानमा उत्पादन बढे पनि समग्र उत्पादन हुने क्षेत्रको उत्पादन अझै बढ्न नसकेको उहाँले बताउनुभयो । पछिल्लो समय गुणस्तरीय बिरुवा उत्पादनका लागि स्क्रिन घरको प्रयोग, औँसा किराको व्यवस्थापन, बोर्डाे मिश्रणको प्रयोग, पुराना बगैँचाको छाँटकाँट र मल तथा सिँचाइको राम्रो व्यवस्थापनमा जुनार किसानहरू लागेको उहाँले बताउनुभयो । जिल्लाको रामेछाप नगरपालिकाको सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुर, हिमगंगा, गोठगाउँ, मन्थली नगरपालिकाको सालु, भलुवाजोर, फुलासी र पुरानागाउँ क्षेत्रमा जुनार तथा सुन्तलाको खेती हुने गरेको छ । जिल्लाका विभिन्न स्थानमा ३ हजार २७८ हेक्टर जमिनमा सुन्तला तथा जुनार जातका फलफूलको खेती हुने गरेको कृषि ज्ञान केन्द्र रामेछापको तथ्याङ्क छ ।