रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका राजेश कार्की र सम्बरबहादुर माझीले लहरे आँप खेतीबाट राम्रो कमाइ गरिरहनु भएको छ । दुई भाइ मिलेर नौ रोपनी जमिनमा गरिएको खेतीबाट वार्षिक पाँच लाख बढी आम्दानी हुनथालेपछि अहिले खेती विस्तार गरी १४ रोपनीमा पु¥याइएको छ । जसबाट १० लाख बढी आम्दानी हुने दुई भाइको अनुमान छ । ६ वर्ष अघि पाँच रोपनी जमिनमा नमुनाको रूपमा लहरे आँप लगाइएको र अहिले १४ रोपनी जमिनमा खेती विस्तार गरिएको राजेश कार्कीले बताउनुभयो । ‘पाँच रोपनी जमिनमा लगाइएको लहरे आँपले बजार र मूल्य दुवै राम्रो पायो, अहिले बढाएर १४ रोपनी जमिनमा खेती गरेका छौँ, अब वार्षिक १० लाख रुपियाँ आम्दानी हुने अनुमान गरेका छौँ’, उहाँले भन्नुभयो । उत्पादित आँप काठमाडौँमा गाडी भाडा बाहेक नै दुई सय देखि दुई सय पचास रुपियाँ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । अहिले विभिन्न निकायको सहयोगमा ३० लाख रुपियाँ लगानीमा लहरे आँप खेतीको क्षेत्र विस्तार र प्रशोधन केन्द्र स्थापना बनाइएको सम्बरबहादुर माझीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘कृषि ज्ञान केन्द्र रामेछापको १५ लाख, खाँडादेवी गाउँपालिकाको ७ लाख ५० हजार र लाफ्नो लगानी गरी ३० लाख रुपियाँ लगानीमा प्रशोधन केन्द्र बनाइएको छ । लहरे आँपबाट बनेको जुसको नेपालको बजारमा मात्र होइन विदेशी बजारमा समेत उच्च माग छ ।’’ अब फल बिक्रीमा भन्दा पनि जुस उत्पादनमा ध्यान दिने र यसो गर्दा १५ रोपनी जमिनबाट १५ लाख रुपियाँ आम्दानी हुने माझीले बताउनुभयो । लहरे आँपको खेतीका लागि खाँडादेवी गाउँपालिका–३ सित्खामा उपयुक्त जमिन रहेको र यहाँ उत्पादन भएको आँपले राम्रो बजार पाएकाले किसानले राम्रो आम्दानी गरिरहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । ‘अहिले राजेश कार्की र सम्बरबहादुर माझी लगायतका किसानहरूले व्यवसायीक रूपमा लहरे आँपको खेती गर्नुभएको छ, उहाँहरूको मिहिनेतले आँपको उत्पादन पनि राम्रो र बजार पनि राम्रो छ, अन्य किसान पनि लहरे आँपको खेतीमा आकर्षित भएका छन्’, उहाँले भन्नुभयो । वडाका किसानलाई लहरे आँप खेतीमा प्रोत्साहन गरी रोजगार तथा स्वरोजगार बनाउन वडा तथा पालिका तहले आवश्यक सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
