रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । ९ दिनदेखि बुबा नरराज पुरीको क्रियापुत्री बसेका नीलकण्ठ पुरी, प्रकाश पुरी र उनीहरूका श्रीमतीसहितले मतदान गरेका हुन् ।
उनीहरूले मन्थली नगरपालिका–९ पुरानागाउँ वडा कार्यालय मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई भोट दिएका छन् । सिङ्गो परिवार नै दुखमा परेको यो घडीमा पनि देश बनाउने स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको प्रकाश पुरीले बताउनुभयो ।आगामी पाँच वर्षका लागि देशको भविष्य निर्धारण गर्न आफ्नो एक मतको पनि ठुलो महत्त्व हुने महसुस गरेर मत हाल्न आएको नीलकण्ठ पुरीले बताउनुभयो ।उनीहरूलाई मतदान केन्द्रका कर्मचारी, सुरक्षाकर्मीहरूले आफ्नो संस्कार अनुसार कसैलाई नछोई भोट हाल्ने वातावरण बनाईदिएको थियो । रामेछापमा ९६ मतदानस्थलहरुमा २२६ मतदान केन्द्रमै उत्साहजनक रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । जिल्लाभर मध्यान्ह १२ बजेसम्म ३० हजार भन्दा बढी मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा यो निर्वाचनमा कुल एक लाख ८० हजार १०६ जना मतदाता छन् ।
रामेछापमा क्रियापुत्री बसेका दुई दाजुभाइले गरे मतदान
- प्रकाशित मिति: आइतबार, मंसिर ४ २०७९
- तामाकोशी