रामेछाप । नेकपा एमाले रामेछापका तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फका उम्मेदवारले प्रेस चौतारी रामेछापसँग मंगलबार अन्तरक्रिया गर्नुभएको छ । मन्थलीमा भएको अन्तरक्रियामा बोल्दै गठबन्धनका दल भित्रबाट उम्मेदवारका बारेमा व्यापक विवाद र बागी उम्मेदवारी दर्ता भएको भए पनि एमालेमा सो समस्या नरहेको एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । रामेछापबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएका ढुङ्गेलले एमालेका उम्मेदवारको विचार, विकास र समाजवादको बाटोको बारेमा स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । ढुङ्गेलले नागरिकलाई सूचना प्रवाह गर्न सञ्चारमाध्यमको महत्पूर्ण भूमिका हुने भएकोले प्रेस चौतारी आबद्ध पत्रकारलाई भ्रमलाई चिर्न र सही समाचार सम्प्रेषण गर्ने आग्रह गर्नुभयो । एउटा कलमले हजारौँ बम र बारुदलाई निस्तेज पार्न बताउँदै मिडियाले एमाले विरुद्धको गठबन्धनका सबै भ्रमलाई सजिलै चिर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस पटक एमालेले हार्दा देशले हार्ने भएकाले एमालेका उम्मेदवारलाई जिताउन सबै क्षेत्र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेको जितसँग पत्रकार र पत्रकारिताको विकास र व्यावसायिकता पनि जोडिने उहाँले स्मरण गराउनुभयो । ढुङ्गेलले कुनै पनि नेता कार्यकर्तालाई गठबन्धनको ह्याङमा नपर्न पनि आग्रह गर्नुभयो । गठबन्धन प्रति जनताको वितृष्णा मात्रै रहेको उहाँको भनाइ छ अन्तरक्रियामा एमालेको तर्फबाट वाग्मती प्रदेश सभाका उम्मेदवारहरू शान्तिप्रसाद पौडेल र मिलनकुमार घिसिङले पनि चुनाव जित्ने आफ्ना आधारहरू प्रस्तुत गर्नुभएको थियो । पार्टीका जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ, सचिव पुरुषोत्तम कँडरिया तथा प्रचार विभाग प्रमुख प्रकाश कार्कीले पनि पार्टीको प्रचार रणनीतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
एमाले रामेछापका उम्मेदवारको प्रेस चौतारीसँग चुनाव केन्द्रित अन्तरक्रिया
- प्रकाशित मिति: मंगलबार, असोज २५ २०७९
- तामाकोशी