रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट रामेछापको प्रदेशसभा क्षेत्र क का प्रदेशसभा सदस्यका उम्मेदवार शान्ति प्रसाद पौडेलले जनतासँग बसेर काम गरेको अनुभव नै निर्वाचन जित्ने पहिलो आधार भएको बताउनुभएको छ । जनतामा लोकप्रिय पार्टी नेकपा एमालेको चुस्त दुरुस्त सङ्गठन रहेको र पार्टीको सङ्गठन परिचालनको हिसाबले पनि आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाइ छ । पार्टीले अगाडी सारेको समृद्ध नेपालका चार र सुखी नेपालीका ६ वटा आधारहरू नै नेपाली जनताको चाहना र प्रश्न रहेकाले समृद्ध नेपाल सुखी नेपालीका आधारहरू पनि निर्वाचन जित्ने अर्को पाटो रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । व्यक्तिगत अपेक्षा भन्दा सामूहिक अपेक्षाबाट व्यक्तिगत लाभ हुने गरी आफूले काम गर्ने उहाँको भनाइ छ । नेकपा एमालेका विरुद्धमा बनेको सत्तारुढ गठबन्धनभित्र उम्मेदवारलाई लिएर तीव्र असन्तुष्टि रहेकाले त्यस्ता असन्तुष्टहरूले पनि एकालेका उम्मेदवारलाई भोट हाल्ने उहाँको विश्वास छ । गठबन्धन कै कारण गठबन्धनभित्र रहेका राजनीतिक दलहरूको शक्ति कमजोर बन्दै गएकाले पनि एमालेका उम्मेदवारलाई निर्वाचन जित्न सहज हुने उहाँले बताउनुभयो । विकास निर्माणलाई जनताको पक्षसम्म लैजान गाउँपालिका तथा नगरपालिकाहरूसँग समन्वय गरेर जानका लागि केन्द्र सरकारको भन्दा प्रदेश सरकारको भूमिका बढी भएको र यी सबै बिचको बलियो समन्वयका लागि आफूले काम गर्ने उहाँको भनाइ छ । रामेछापको विकासको सुरुवात गरिएकाले यसलाई पूर्ण गर्न आफू लाग्ने बताउनुभयो । जिल्लाको विकासका लागि महत्त्वपूर्ण कोलन्जोरघाट–साघुटार–सिरिसे हुँदै बाम्तिको ठाडा खोला हुँदै लाछ्योरसम्म सडक निर्माण गर्न सके यी खोलाहरूमा जलविद्युतहरू बन्नका लागि आधार बन्ने बताउनुभयो । यो सडक निर्माण गर्न सके लिखुखोला कोरिडोरमा रहेका वडाहरूका लागि राजधानी काठकाडौं, मधेसबाट निकै छोटो हुने उहाँको भनाई छ । जनताले मत दिएर आफूलाई निर्वाचित गराएको खण्डमा यो सडक खण्ड निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । उहाँले सेलेघाट–रामेछाप–साँघुटार सडक, खिप्ती–बेताली–गर्जाङ सडक कालोपत्रे गर्ने काम पनि चाडै सम्पन्न गराउने बताउनुभयो ।
जनतासँग बसेर काम गरेको अनुभव नै निर्वाचन जित्ने पहिलो आधार हो : शान्ति पौडेल
- प्रकाशित मिति: सोमबार, असोज २४ २०७९
- तामाकोशी